तिहारमा टिकाथलीमा भएको चोरी प्रकरणमा पाँच जना पक्राउ
ड्रागन मिडिया सम्वाददाता
तिहारका बेला ललितपुरको टिकाथलीमा भएको चोरी घटनाको अनुसन्धानका क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चोरीमा संलग्न रहेको आरोप लागेका तीन जना, चोरीको सुन खरिद गरेको आरोप लागेका एक जना र सुन बेच्न सहयोग गरेको आरोप लागेकी एक महिला छन्।
प्रहरीका अनुसार कात्तिक २४ गते मध्यराततिर महालक्ष्मी नगरपालिका–५, टिकाथलीमा भाडामा बस्ने दुई व्यक्तिको कोठाको ताला फोडेर सुनचाँदीका गरगहना, ल्यापटप र नगद चोरी भएको थियो। घटनाको अनुसन्धानपछि कात्तिक २७ गते साँझ काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।
चोरीमा संलग्न रहेको आरोपमा महोत्तरीको सोनमा गाउँपालिका–६ का ३३ वर्षीय प्रमोदकुमार यादव, भारतको बिहारस्थित मोतिहारीका २० वर्षीय करन गिरी र समस्तीपुरका २७ वर्षीय गोकुल गिरी पक्राउ परेका छन्। चोरीको सुन किनेको आरोपमा सुनसरीको इनरुवा नगरपालिका–१ का २३ वर्षीय अनुराग सोनी साह र सुन बेच्न सहयोग गरेको आरोपमा दोलखाको मेलुङ गाउँपालिका–२ की २१ वर्षीया अनिता चौधरी खड्का पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूबाट सुनको लकेट, चाँदीजस्तो देखिने दुई औँठी, चाँदीको सिक्री र ब्रेसलेट बरामद गरेको छ। घरको ताला फोड्न प्रयोग भएको आशङ्कामा फलामको रड र काठका दुई टुक्रा पनि बरामद गरिएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकाहरूलाई बरामद सामानसहित थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ।





