२ मंसिर २०८३, मंगलवार

कार्कीको रिटमा बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने

ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दानबहादुर कार्कीले आफूलाई जिम्मेवारीमुक्त गर्ने सरकारी निर्णयविरुद्ध दायर गरेको रिटमा बुधबार, मंसिर २ गते सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

सरकारले जिम्मेवारीबाट हटाएपछि कार्कीले कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए। तिहार बिदाका कारण सुरुमा कात्तिक ३० गतेका लागि पेसी तोकिए पनि छठ पर्वको बिदा थपिएपछि बुधबारका लागि सुनुवाइ तय भएको कार्कीका कानुन व्यवसायीले बताएका छन्।

कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर अतिरिक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई प्रहरी प्रमुख नियुक्त गरेको थियो। कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को विशेष सुरक्षा सल्लाहकारका रूपमा खटाउने निर्णय पनि सरकारले गरेको थियो।

कार्कीले आफूलाई हटाउनुअघि कुनै सूचना नदिइएको र आफ्नो कुरा राख्ने अवसरसमेत नदिइएको जिकिर रिटमा गरेका छन्। कार्यसम्पादन, आचरण, क्षमता वा योग्यतासम्बन्धी कुनै आरोप उल्लेख नगरी जिम्मेवारीबाट हटाइएको उनको दाबी छ।

रिटमा केसीलाई प्रहरी प्रमुख नियुक्त गर्ने र दर्ज्यानी चिह्न प्रदान गर्नेलगायतका निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ। फैसला वा अन्तरिम आदेशबारे भने सर्वोच्च अदालतको सुनुवाइपछि मात्र स्पष्ट हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button