चार नयाँ न्यायाधीश इजलासमा, हरि फुयाल पनि काममा फर्किए

ड्रागन मिडिया सम्वाददाता
बिचौलिया भनिएका इनाम सापकोटासँगको सम्बन्धबारे प्रश्न उठेपछि बिदामा बसेका सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल सरकारी बिदापछि नियमित काममा फर्किएका छन्। सर्वोच्च अदालतमा नवनियुक्त चार न्यायाधीशले पनि मंगलबारदेखि इजलासमा सुनुवाइ सुरु गरेका छन्।
न्याय परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए। उनीहरूले कात्तिक २७ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसपछि अदालत खुलेको पहिलो दिन मंगलबार उनीहरू इजलासमा बसेका हुन्।
नवनियुक्त न्यायाधीश डा. रत्नबहादुर बागचन्द प्रधानन्यायाधीश मनोज शर्मासँग संयुक्त इजलासमा तोकिएका छन्। चन्द्रबहादुर सारुको इजलास न्यायाधीश टेकप्रसाद ढुंगानासँग, जनक पाण्डेको नहकुल सुवेदीसँग र गोकर्ण डाँगीको हरि फुयालसँग तोकिएको छ।
चार न्यायाधीशले काम सुरु गरेसँगै सर्वोच्च अदालतमा न्यायाधीशको सङ्ख्या २० पुगेको छ। अझै एक पद रिक्त रहेको छ।
फुयाल कात्तिक १७ देखि चार दिन बिदामा बसेका थिए। त्यसपछि तिहार र छठ पर्वका सरकारी बिदा परेका थिए। सापकोटासँगको सम्बन्धबारे छानबिन हुनुपर्ने माग उठिरहेका बेला उनी नियमित काममा फर्किएका हुन्। सर्वोच्च अदालतले यस विषयमा कुनै निष्कर्ष वा निर्णय सार्वजनिक गरेको छैन।





