नेपाल–भारत हवाई सम्पर्क विस्तारबारे उड्डयनमन्त्रीबीच छलफल

ड्रागन मिडिया समाचार कक्ष
नेपाल र भारतबीच हवाई सम्पर्क विस्तार तथा उड्डयन क्षेत्रमा सहकार्य सुदृढ गर्ने विषयमा दुवै देशका नागरिक उड्डयनमन्त्रीबीच बुधबार नयाँदिल्लीमा छलफल भएको छ।
नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले भारतीय नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापुसँग उनको मन्त्रालयमा भेटवार्ता गरेका हुन्।
भारतीय मन्त्री किन्जारापुले सामाजिक सञ्जालमार्फत भेटलाई सुखद भन्दै हवाई सम्पर्कबाट दुई देशबीचको ऐतिहासिक तथा परम्परागत सम्बन्ध अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सांस्कृतिक र जनस्तरको सम्बन्ध विस्तारमा हवाई सम्पर्कको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ।
भेटका क्रममा नेपाली मन्त्रीले अयोध्या विमानस्थलबारे गरेको प्रशंसाको पनि किन्जारापुले स्वागत गरेका छन्। अयोध्या विमानस्थलले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुर्याउने उनले बताएका छन्।
मन्त्री पौडेलले पनि भेटबारे जानकारी दिँदै किन्जारापुलाई युवा, ऊर्जाशील र आत्मीय व्यक्तित्वका रूपमा चित्रण गरेका छन्। भेटमा उड्डयन क्षेत्र र नेपाल–भारत सहकार्यका सम्भावनाबारे छलफल भएको उनले बताएका छन्।
नेपाल र भारतबीच हवाई सेवा विस्तार, नयाँ गन्तव्यमा उडान सञ्चालन तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्यका सम्भावना छन्।





