९ मंसिर २०८३, मंगलवार

चीनमा शरीरमा लगाइने प्रविधिको बजार विस्तार, स्मार्ट चस्माको अनलाइन बिक्री आम्दानी ११० प्रतिशत बढ्यो

ड्रागन मिडिया समाचार कक्ष

बेइजिङको तोङछङ जिल्लाकी झोउ हरेक बिहान आफ्नो फोनमा मुटुको चाल, रगतमा अक्सिजनको मात्रा र अघिल्लो रातको निद्राबारे एक पृष्ठको विवरण हेर्छिन्। त्यो विवरण उनको स्मार्ट घडीले तयार पार्छ। त्यही शहरका ली भने यात्रामा तस्बिर खिच्न र भिडियो बनाउन कृत्रिम बुद्धिमत्ता (एआई) जडित चस्मा लगाउँछन्। चस्माले खिचेका दृश्य सीधै फोनमा आउने भएकाले सम्पादन गर्न र वीच्याटमा बाँड्न सजिलो भएको उनले ग्लोबल टाइम्सलाई बताए।

चीनमा शरीरमा लगाइने स्मार्ट उपकरणको बजार अब घडी र व्यायामको विवरण राख्ने नाडीपट्टीबाट चस्मा, औँठी र हिँड्न सघाउने यन्त्रसम्म फैलिएको छ। चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार सन २०२६ का पहिलो नौ महिनामा प्रमुख अनलाइन व्यापारिक मञ्चमा स्मार्ट चस्माको बिक्रीबाट भएको आम्दानी ११० प्रतिशत बढ्यो। सोही अवधिमा शरीरमा लगाएर हिँड्न सघाउने बाह्य यान्त्रिक संरचना अर्थात एक्सोस्केलेटनको बिक्री आम्दानी ४६.४ प्रतिशत बढ्यो।

परामर्श संस्था केपीएमजीले सेप्टेम्बरमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार चीनमा शरीरमा लगाइने स्मार्ट उपकरणको बजार सन २०२१ मा ६९ अर्ब ५० करोड युआनको थियो। सन २०२५ मा यो बढेर १ खर्ब ५ अर्ब ३० करोड युआन पुग्यो। चार वर्षमा चीनको बजारको चक्रवृद्धि वार्षिक वृद्धिदर ११ प्रतिशत रह्यो। यही अवधिमा विश्व बजारको वृद्धिदर १२.२ प्रतिशत थियो।

स्मार्ट चस्माले उपभोक्तालाई के सुविधा दिन सक्छ भन्ने एउटा उदाहरण अलिबाबाले मार्चमा बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा प्रस्तुत गरेको थियो। कम्पनीका अनुसार उसको क्वेन चस्माले तत्काल भाषानुवाद गर्न, उच्च गुणस्तरका तस्बिर र भिडियो खिच्न, बैठकमा बोलेका कुरा लिखित रूपमा उतार्न र अगाडि देखिएका वस्तु चिन्न सक्छ। चस्मालाई क्वेन एपसँग जोडेर चीनका प्रयोगकर्ताले बोलेकै भरमा खाना मगाउन, होटलको कोठा आरक्षित गर्न वा सवारी बोलाउन सक्ने सुविधा ल्याउने योजना पनि कम्पनीले सार्वजनिक गरेको थियो।

यस प्रविधिको अर्को प्रयोग शारीरिक पुनर्स्थापनामा देखिएको छ। अप्रिलमा आन्हुई प्रान्तमा आयोजित विज्ञान तथा प्रविधि मेलामा सहाराबिना उभिन नसक्ने एक किशोरले खुट्टामा लगाइने रोबोटिक उपकरणको सहायताले पाइला चाले। आइफ्लाइटेकको सहायक कम्पनी आइबो इन्टेलिजेन्ट टेक्नोलोजीले विकास गरेको उक्त उपकरणमा मस्तिष्क र कम्प्युटरबीच संकेत आदानप्रदान गर्ने प्रविधि जडान गरिएको थियो। प्रदर्शनका क्रममा उपकरणका यान्त्रिक खुट्टाले किशोरलाई पाइला अघि सार्न सघाएका थिए।

कम्पनीका अनुसार उसका एचएम–७०० श्रृंखलाका उपकरणमा जडित संवेदकले प्रयोगकर्ताले कुन चाल चाल्न खोजेका हुन् भन्ने पहिचान गर्छन्। त्यसअनुसार उपकरणले कम्मरको जोर्नी मोड्न बल दिन्छ र हिँड्दा वा भर्‍याङ चढ्दा खुट्टामा पर्ने भार घटाउँछ। कम्पनीले चीनका एक सयभन्दा बढी अस्पतालमा आफ्ना यस्ता उपकरण प्रयोग भइरहेको र बिरामीलाई १० हजारभन्दा बढी पटक सेवा दिइएको जनाएको छ।

नयाँ उपकरण बजारमा छिटो ल्याउन चीनको विद्युतीय सामान उत्पादन सञ्जालले पनि सघाएको छ। सिन्ह्वाका अनुसार शेन्जेनको ह्वाछ्याङपेई क्षेत्रमा १ लाख १५ हजारभन्दा बढी व्यवसायले १० लाखभन्दा बढी प्रकारका विद्युतीय पुर्जा र उपभोक्ता उपकरण आपूर्ति गर्छन्। उपकरणको डिजाइन गर्ने, साँचो बनाउने, पुर्जा जोड्ने र तयार सामान निर्यात गर्ने व्यवसाय एकै क्षेत्रमा हुँदा नयाँ डिजाइनलाई ठूलो परिमाणमा उत्पादन गर्न लाग्ने समय छोटिएको छ।

ह्वाछ्याओ विश्वविद्यालयका प्राध्यापक हु छिमुका अनुसार स्मार्ट उपकरणको प्रतिस्पर्धात्मक क्षमता चिप र संवेदक बनाउनेदेखि अन्तिम उपकरण तयार पार्नेसम्मका उत्पादकबीचको तालमेलमा निर्भर हुन्छ। याङ्त्से र पर्ल नदीका डेल्टा क्षेत्रमा ठूला प्रविधि कम्पनी र मागअनुसार उत्पादन बदल्न सक्ने विशेषज्ञ आपूर्तिकर्ता नजिकै रहेकाले फरक आवश्यकताका लागि उपकरण बनाउन सहज भएको उनको भनाइ छ।

चीनको वाणिज्य मन्त्रालयसहित आठ सरकारी निकायले जुनमा जारी गरेको मार्गदर्शनले शरीरमा लगाइने स्मार्ट उपकरणको बजार विस्तारलाई प्राथमिकता दिएको छ। त्यसमा उपभोक्ता विद्युतीय सामान र घरायसी उपकरण सुधार्नेदेखि ज्येष्ठ नागरिकको हेरचाह गर्ने, साथ दिने र दैनिक काममा सघाउने एआईयुक्त रोबोटको प्रयोग बढाउनेसम्मका विषय समेटिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button