१० मंसिर २०८३, बुधबार

मेची भन्सारको कात्तिकको राजस्व लक्ष्यभन्दा झन्डै १० प्रतिशत बढी, चार महिनाको असुली लक्ष्यभन्दा कम

ड्रागन मिडिया सम्वाददाता

झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ मा पहिलोपटक कात्तिकमा मासिक राजस्व लक्ष्य नाघेको छ। कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार कात्तिकमा १ अर्ब ३५ करोड १३ लाख ९६ हजार रुपैयाँ सङ्कलन भएको छ। यो रकम मासिक लक्ष्य १ अर्ब २३ करोड रुपैयाँभन्दा १२ करोड १३ लाख ९६ हजार रुपैयाँ बढी हो।

कार्यालयको मासिक विवरणअनुसार साउनदेखि कात्तिकसम्म कुल ६ अर्ब २ करोड २१ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। चार महिनाको लक्ष्य ६ अर्ब १५ करोड रुपैयाँ थियो। कात्तिकमा लक्ष्य नाघे पनि समग्र असुली लक्ष्यभन्दा १२ करोड ७८ लाख ३१ हजार रुपैयाँ कम छ।

साउनमा १ अर्ब ४३ करोड ५० लाख रुपैयाँको लक्ष्य रहेकामा १ अर्ब २७ करोड ९८ लाख ३७ हजार रुपैयाँ उठेको थियो। भदौमा १ अर्ब ६४ करोड रुपैयाँको लक्ष्यमा १ अर्ब ५५ करोड ३५ लाख ३८ हजार रुपैयाँ सङ्कलन भयो। असोजमा असुली लक्ष्यको नजिक पुगेको थियो। त्यस महिना १ अर्ब ८४ करोड ५० लाख रुपैयाँको लक्ष्य रहेकामा १ अर्ब ८३ करोड ७३ लाख ९८ हजार रुपैयाँ उठेको थियो।

भारतको पश्चिम बङ्गालस्थित पानीट्याङ्कीसँग जोडिएको काँकडभिट्टा नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानलगायत मुलुकसँग व्यापार हुन्छ। यस नाकाबाट पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, तयारी पोशाक, सुपारी, सिमेन्टको क्लिङ्कर, सुती कपडा, चामल र मोटरका ब्याट्रीलगायत वस्तु आयात हुन्छन्। निर्यात हुने प्रमुख वस्तुमा चिया, अलैँची, अदुवा, अम्लिसो, मुसुरो दाल, जडीबुटी, खयरको कत्था र प्लाइउड पर्छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button