विदुरमा बाढी प्रभावित ९७० परिवारलाई घरभाडा सहायता वितरण शुरु

ड्रागन मिडिया सम्वाददाता
नुवाकोटको विदुर नगरपालिकाले भोटेकोसीको बाढीबाट प्रभावित भई भाडामा बसिरहेका ९७० परिवारको बैंक खातामा घरभाडाबापतको रकम पठाउन थालेको छ। सङ्घीय सरकारको घोषणाअनुसार चार जनासम्म सदस्य भएका परिवारले मासिक १५ हजार रुपैयाँ पाउनेछन्। चार जनाभन्दा ठूला परिवारले प्रत्येक थप सदस्यका लागि मासिक दुई हजार रुपैयाँ बढी पाउने व्यवस्था छ।
नगरप्रमुख राजन श्रेष्ठका अनुसार वडा नम्बर १० को वेत्रावती र आसपासबाट शुरु भएको वितरण अहिले बाढी प्रभावित सबै वडामा पुगेको छ। लाभग्राहीको विवरण अद्यावधिक गर्ने काम पनि जारी छ।
उपप्रमुख प्रभा बोगटीका अनुसार नगरपालिकामा बाढी प्रभावित कुल १ हजार ७८६ परिवार लाभग्राहीका रूपमा सूचीकृत छन्। तीमध्ये भाडामा बसिरहेका ९७० परिवारलाई अहिले घरभाडा सहायता दिन थालिएको हो। परिवारको विवरण सङ्कलन र प्रमाणीकरण गर्न समय लागेकाले भुक्तानीमा ढिलाइ भएको उनले बताइन्। केही परिवारले सूचीमा आफ्नो नाम छुटेको गुनासो गरेकाले लाभग्राहीको अन्तिम सङ्ख्या हेरफेर हुन सक्ने उनको भनाइ छ।
विदुर नगर कार्यपालिकाले भदौ २० गते आश्रयस्थल छाडेर भाडाको घरमा बस्न चाहने परिवारलाई मासिक १० हजार रुपैयाँ दिने निर्णय गरेको थियो। त्यसपछि सङ्घीय सरकारले सुरक्षित स्थानमा भाडामा बस्ने बाढी प्रभावित परिवारलाई कम्तीमा छ महिनाको घरभाडा उपलब्ध गराउने घोषणा गरेको थियो। नगरपालिकाले दुवै तहबाट एउटै परिवारलाई दोहोरो भुक्तानी नहुने गरी सङ्घीय घोषणाअनुसार रकम वितरण थालेको हो। यसअघि नगरपालिकाले सामाजिक सङ्घसंस्थासँग मिलेर प्रभावित परिवारलाई लत्ताकपडा, भाँडाकुँडा र सरसफाइका सामग्री उपलब्ध गराएको थियो।
नुवाकोटकै बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा पनि घरभाडा सहायता पाउने परिवारको पहिचान अन्तिम चरणमा पुगेको छ। लाभग्राहीको सूची टुङ्गिएपछि रकम वितरण थाल्ने ती स्थानीय तहले जनाएका छन्।





