सुनकोशी–मरिणको १६ अर्बको बोलपत्र रद्दबारे लेखा समितिले सात दिनभित्र कागजात माग्यो

ड्रागन मिडिया सम्वाददाता
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको करिब १६ अर्ब रुपैयाँ अनुमानित लागतको अन्तर्राष्ट्रिय बोलपत्र आह्वानदेखि रद्द गर्ने निर्णयसम्मका सबै कागजात सात दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ। मंगलबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले प्राविधिक मूल्याङ्कन सकिएर आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला बोलपत्र किन रद्द गरियो भन्ने प्रश्न उठाएका थिए।
आयोजनाले बाँधस्थलका संरचना, पानीबाट बालुवा छुट्याउने संरचना, विद्युतगृह र सम्बन्धित उपकरण निर्माण तथा जडानका लागि २०८३ असार २५ गते बोलपत्र आह्वान गरेको थियो। छ प्रतिस्पर्धीमध्ये दुई चिनियाँ कम्पनी र एउटा चिनियाँ–नेपाली संयुक्त उपक्रम प्राविधिक मूल्याङ्कनमा योग्य ठहरिएका थिए। उनीहरूका आर्थिक प्रस्ताव खोल्नुअघि नै आयोजना कार्यालयले खरिद प्रक्रिया रद्द गरेको थियो।
सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले बोलपत्र आह्वानपछि सार्वजनिक खरिद नियमावलीमा भएको संशोधनलाई निर्णयको आधार बताए। उनका अनुसार बोलपत्र आह्वान गर्दा १५औँ संशोधनअनुसार औसत बोलपत्र मूल्यका आधारमा प्रस्ताव मूल्याङ्कन गर्ने व्यवस्था थियो। भदौ १० गते प्राविधिक प्रस्ताव खोल्नुअघि नै भदौ ३ गतेदेखि १६औँ संशोधन लागू भएको उनले बताए। संशोधित व्यवस्थाले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल आयोजनामा अङ्कभारका आधारमा प्रस्ताव मूल्याङ्कन गर्नुपर्ने भएकाले पुरानै मापदण्डबाट ठेक्का दिँदा पछि कानुनी विवाद आउन सक्ने उनको तर्क थियो।
एमाले सांसद गणेशसिंह ठगुन्नाले बोलपत्रदाताले तोकिएका शर्तअनुसार प्राविधिक र आर्थिक प्रस्ताव बुझाइसकेपछि मूल्याङ्कनको आधार बदल्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठाए। नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले संशोधित नियम जारी खरिद प्रक्रियामा लागू हुने कानुनी आधार र निर्णयबाट राज्यलाई परेको आर्थिक असर खुलाउन माग गरे।
बैठकमा महानिर्देशक रजौरिया र आयोजना प्रमुख कृष्णप्रसाद रिजाललाई प्रहरी नियन्त्रणमा लिएर बोलपत्र रद्द गर्न दबाब दिइएको भन्ने आरोपबारे पनि प्रश्न उठ्यो। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले निर्णयअघि प्रधानमन्त्री कार्यालयबाट कुनै निर्देशन वा राय लिइएको थियो कि थिएन भन्ने स्पष्ट पार्न माग गरिन्। रजौरियाले आफू प्रधानमन्त्री कार्यालय गएको बताए पनि बोलपत्र रद्द गर्ने विषयमा त्यहाँबाट दबाब वा हस्तक्षेप महसुस नगरेको जवाफ दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मे २०२४ मै आयोजनाको १३.३ किलोमिटर लामो सुरुङ छिचोलिए पनि बाँकी संरचना निर्माणमा भएको ढिलाइले किसानलाई पारेको असरको हिसाब मागे। उनले बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका किसानले समयमै सिँचाइ नपाउँदा बेहोरेको उत्पादन क्षतिसमेत मूल्याङ्कन गर्न र बाँकी काम सक्ने समयतालिका पेश गर्न आग्रह गरे। नेपाली कांग्रेसका सांसद जनकराज गिरीले यसअघि रमण–पटेल संयुक्त उपक्रमसँगको ठेक्का तोड्दा राज्यमा परेको आर्थिक भारको विवरण पनि मागे।
समिति सभापति भरत खड्काले सरकारले पेश गर्ने कागजातका आधारमा बोलपत्र रद्द गर्ने निर्णयको कानुनी आधार र हस्तक्षेपसम्बन्धी आरोप जाँचिने बताए।





