१० मंसिर २०८३, बुधबार

जलविद्युत कम्पनीलाई आईपीओको अनुमति दिन लगानी सुनिश्चितता र आयोजना प्रगति जाँच्ने प्रस्ताव

ड्रागन मिडिया सम्वाददाता

नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाबाट लगानी सुनिश्चित गरेका र आयोजनाको न्यूनतम प्रगति प्रमाणित गराएका जलविद्युत कम्पनीलाई मात्र प्राथमिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) का लागि योग्य मान्ने मापदण्ड प्रस्ताव गरेको छ। बोर्डले तयार गरिरहेको निर्देशिकाअनुसार सर्वेक्षण पूरा गरेको वा विद्युत उत्पादनको अनुमति पाएको आधारमा मात्र कम्पनीले आईपीओको अनुमति पाउने छैन।

मस्यौदामा जलविद्युत आयोजनालाई सर्वेक्षणदेखि सञ्चालनसम्म सात चरणमा वर्गीकरण गरिएको छ। तेस्रो चरणमा पुगेपछि कम्पनीको आईपीओ योग्यता मूल्याङ्कन हुनेछ। यसका लागि वित्तीय व्यवस्था सुनिश्चित भएको र विद्युत नियमन आयोगले तोकेको न्यूनतम प्रगति हासिल भएको प्रमाणित गर्नुपर्नेछ। चौथो चरणमा निर्माणको प्रगति र काम पूरा गर्न लाग्ने बाँकी लागतको मूल्याङ्कन गरिनेछ। त्यसपछिका चरणमा परीक्षण, सञ्चालनको तयारी र व्यावसायिक सञ्चालन समेटिएका छन्।

बोर्डका अध्यक्ष गोपाल भट्टका अनुसार आईपीओ जारी गर्न चाहने सबै कम्पनीले मूल्याङ्कनमा कम्तीमा ७० प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने प्रस्ताव छ। मूल्याङ्कन गर्दा कम्पनीले पूरा गरेका कानुनी प्रक्रिया, वित्तीय श्रोतको उपलब्धता, वातावरणीय प्रभाव मूल्याङ्कन र संस्थागत सुशासनलाई आधार मानिनेछ। जलविद्युत कम्पनीका हकमा प्रविधि आयातको अवस्था पनि हेरिनेछ।

सेयर बिक्री प्रबन्धकले निष्कासनअघि सम्बन्धित कम्पनीको वित्तीय अवस्था खुल्ने भिडियो बनाएर सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। बोर्डले मंसिर २३ गते शुरु हुने दुईदिने पूर्वाधार सम्मेलनअघि निर्देशिका तयार गर्ने लक्ष्य राखेको छ।

प्रतिसेयर नेटवर्थको न्यूनतम सीमाबारे भने विवाद कायम छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले २०८० पुस १२ गते प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओको अनुमति नदिन निर्देशन दिएको थियो। अर्थ समितिले २०८२ जेठमा कानुनी मापदण्ड पूरा गरेका कम्पनीको निष्कासन प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो। बोर्डका एक अधिकारीका अनुसार प्रतिसेयर ९० रुपैयाँको सीमा कानुनमा नतोकिए पनि बोर्डले लेखा समितिको निर्देशनअनुसार सोभन्दा कम नेटवर्थ भएका कम्पनीलाई अनुमति दिएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button