१० मंसिर २०८३, बुधबार

लाट्भियामा झन्डै ६ हजार पूर्वसैनिकको पेन्सन भुक्तानी रोकिन सक्ने रुसको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष

लाट्भियाको राजधानी रिगास्थित रुसी दूतावासको सामाजिक कल्याण विभागमा स्थानीय रूपमा नियुक्त सबै कर्मचारीलाई हटाउन लाट्भियाले गरेको मागले झन्डै ६ हजार पूर्वसैनिकको पेन्सन भुक्तानी रोकिन सक्ने रुसले जनाएको छ। रुसी विदेश मन्त्रालयले नोभेम्बर २३ मा मस्कोमा लाट्भियाकी कार्यवाहक राजदूत रामोना क्रासोभ्स्कालाई बोलाएर उक्त मागका मानवीय परिणामबारे पुनर्विचार गर्न आग्रह गरेको हो।

रुसी विदेश मन्त्रालयका अनुसार लाट्भियामा बसोबास गर्ने रुसी सैन्य सेवाका निवृत्त कर्मचारी र उनीहरूका परिवारको सामाजिक सुरक्षासम्बन्धी सम्झौतामा दुई देशले ३० अप्रिल १९९४ मा हस्ताक्षर गरेका थिए। उक्त सम्झौताअनुसार पेन्सन भुक्तानीको प्रक्रिया रिगास्थित रुसी दूतावासको कन्सुलर शाखाअन्तर्गतको सामाजिक कल्याण विभागले सम्हाल्दै आएको छ।

विभागका स्थानीय कर्मचारी हटाइए हालको व्यवस्थाबाट भुक्तानी जारी राख्न नसकिने मन्त्रालयको भनाइ छ। यसले पूर्वसैनिक र उनीहरूका परिवारप्रतिको दायित्व पूरा गर्न कठिन हुने रुसले जनाएको छ। लाभग्राहीमा लाट्भियाली र रुसी दुवै नागरिक छन्।

मन्त्रालयले क्रासोभ्स्कालाई कूटनीतिक पत्र बुझाउँदै मस्कोस्थित लाट्भियाली दूतावासमा रुसी कानुनअनुसार स्थानीय कर्मचारी नियुक्त गर्ने विषयमा वार्ता पुनः शुरु गर्न प्रस्ताव गरेको छ। रुसले सन् १९९४ को सम्झौतामा सम्भावित संशोधन र रिगास्थित सामाजिक कल्याण विभागका कर्मचारीको हैसियत स्पष्ट पार्ने विषयमा पनि परामर्श गर्न प्रस्ताव गरेको छ।

रुसी मन्त्रालयले धेरै वृद्ध लाभग्राहीका लागि पेन्सन नै आम्दानीको एकमात्र श्रोत रहेको उल्लेख गर्दै उनीहरूको जीविकामा पर्न सक्ने असर विचार गर्न लाट्भिया सरकारलाई आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button