१० मंसिर २०८३, बुधबार

बढ्दो घाटा, ऋण र ब्याज खर्चले ईयूको सार्वजनिक वित्त निर्णायक मोडमा पुगेको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष

युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रमा बजेट घाटा, सार्वजनिक ऋण र उधारो लिने लागत एकसाथ बढ्दा सार्वजनिक वित्त निर्णायक मोडमा पुगेको अर्थतन्त्रसम्बन्धी युरोपेली आयुक्त भाल्दिस दोम्ब्रोभ्स्किसले बताएका छन्। युरोपेली संसदमा सदस्य राष्ट्रहरूको बजेट अवस्थासम्बन्धी समीक्षा प्रस्तुत गर्दै उनले सरकारहरूलाई वित्तीय अनुशासन कायम गर्न आग्रह गरेको रुसी समाचार संस्था तासले जनाएको छ।

युरोपेली आयोगको शरद्कालीन प्रक्षेपणअनुसार ईयूको समग्र बजेट घाटा सन् २०२५ मा कुल गार्हस्थ्य उत्पादनको ३.१ प्रतिशत रहेकामा सन् २०२८ मा ३.८ प्रतिशत पुग्ने अनुमान छ। सन् २०२६ मा १२ सदस्य राष्ट्रको घाटा कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशतको सीमाभन्दा माथि पुग्ने र सन् २०२८ सम्ममा त्यस्ता देशको संख्या १६ पुग्ने प्रक्षेपण छ।

सोही अवधिमा ईयूको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ८२.६ प्रतिशतबाट ८५.६ प्रतिशत पुग्ने अनुमान छ। दोम्ब्रोभ्स्किसका अनुसार ब्याज भुक्तानीको खर्च अलग राख्दा पनि सरकारी राजस्वले बाँकी खर्च धान्न नसक्नु ऋण वृद्धिको मुख्य कारण हो। यस वर्ष आधाभन्दा बढी सदस्य राष्ट्रको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत नाघ्ने र चार देशमा त्यो अनुपात १०० प्रतिशतभन्दा माथि पुग्ने अनुमान छ।

दोम्ब्रोभ्स्किसले अन्तर्राष्ट्रिय बजारमा ऋणपत्रको प्रतिफल बढेको र लगानीकर्ताले सरकारी ऋणपत्रको जोखिमबापत थप प्रतिफल माग्न थालेको बताए। उनका अनुसार बजेट घाटा धान्न सरकारले थप ऋण लिनुपर्छ। ऋण र ब्याजदर दुवै बढेपछि राजस्वको ठूलो हिस्सा ब्याज तिर्न खर्च हुन्छ, जसले अर्को वर्षको बजेट घाटा झन् फराकिलो बनाउन सक्छ।

तासका अनुसार आयुक्तले आफ्नो प्रस्तुतिमा ईयूको बढ्दो सैन्य खर्चले बजेट घाटामा पारेको प्रभावबारे चर्चा गरेनन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button