१० मंसिर २०८३, बुधबार

पौडीमा विकास र लिलीको राष्ट्रिय कीर्तिमान, पहिलो दिन बागमतीलाई चार स्वर्ण

ड्रागन मिडिया सम्वाददाता

दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत नेपालगन्जमा मङ्गलबार शुरु भएको पौडी प्रतियोगितामा कोशी प्रदेशका विकास कुमाल र गैरआवासीय नेपाली संघ (एनआरएनए) की लिली बोहराले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्। नेपालगन्ज रङ्गशालाको पौडी पोखरीमा पहिलो दिन सम्पन्न ११ स्पर्धामध्ये चारमा स्वर्ण जित्दै बागमती प्रदेशले अग्रता लिएको छ।

पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा विकासले ३०.६४ सेकेन्डमा दूरी पूरा गर्दै आफ्नै नाममा रहेको ३०.६६ सेकेन्डको राष्ट्रिय कीर्तिमान सुधारे। नेपाल आर्मी क्लबका जडेन श्रेष्ठले रजत र नेपाल पुलिस क्लबका इर्भिन श्रेष्ठले कांस्य जिते।

महिला ४०० मिटर व्यक्तिगत मेड्लीमा लिलीले ५ मिनेट १७.०१ सेकेन्डमा दूरी पूरा गरिन्। यसअघि सोफिया शाहको नाममा ५ मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान थियो। आर्मीकी डुआना लामाले पनि पुरानो कीर्तिमानभन्दा कम समयमा दूरी पूरा गरिन्। उनले ५ मिनेट ३३.३९ सेकेन्डमा रजत जितिन् भने पुलिसकी देभान्सी जोशीले कांस्य प्राप्त गरिन्।

बागमतीका चारमध्ये दुई स्वर्ण अभिभ प्रधानले व्यक्तिगत स्पर्धामा जिते। उनी पुरुष १०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा पहिलो भए। बागमतीले महिला ४×५० मिटर फ्रिस्टाइल रिले र मिश्रित ४×५० मिटर फ्रिस्टाइल रिलेमा पनि स्वर्ण जित्यो। एनआरएनएले महिला १०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा समेत स्वर्ण जितेर पहिलो दिन आफ्नो स्वर्ण सङ्ख्या तीन पुर्‍यायो।

महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा डुआनाले आर्मीलाई स्वर्ण दिलाइन्। आर्मीको अर्को स्वर्ण पुरुष ४×१०० मिटर मेड्ली रिलेबाट आयो। पुरुष १,५०० मिटर फ्रिस्टाइलमा पुलिसका मयोन श्रेष्ठले स्वर्ण, सुदूरपश्चिमका अथर्व सिंहले रजत र पुलिसका रचित बुढाथोकीले कांस्य जिते।

पहिलो दिन बागमतीले चार स्वर्ण, दुई रजत र तीन कांस्यसहित नौ पदक जित्यो। एनआरएनएले तीन स्वर्ण र एक कांस्य, आर्मीले दुई स्वर्ण, पाँच रजत र एक कांस्य तथा पुलिसले एक स्वर्ण, दुई रजत र छ कांस्य प्राप्त गरे। कोशीले एक स्वर्ण र सुदूरपश्चिमले दुई रजत जिते।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button