भोजपुरमा गोठमै कृत्रिम गर्भाधान सेवा, चालु आर्थिक वर्षमा १०० गाईभैँसीले पाए सेवा

ड्रागन मिडिया सम्वाददाता
भोजपुरमा किसानले माग गरेपछि पशु प्राविधिकहरू गाईभैँसीको कृत्रिम गर्भाधानका लागि गोठमै पुग्ने गरेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका सूचना अधिकारी मनोज पोखरेलका अनुसार चालु आर्थिक वर्षमा हालसम्म १०० गाईभैँसीमा कृत्रिम गर्भाधान गरिएको छ। गत आर्थिक वर्षभरिमा केन्द्रले १८० गाईभैँसीलाई यो सेवा दिएको थियो।
पोखरेलका अनुसार गोठमै पुगेर सेवा दिँदा केन्द्रले प्रतिगाई एक हजार रुपैयाँ र प्रतिभैँसी एक हजार पाँच सय रुपैयाँ शुल्क लिन्छ। भैँसीका लागि मुर्रा जातको राँगोको वीर्य प्रयोग गरिन्छ। गाईका लागि भने किसानको रोजाइअनुसार होलस्टिन वा जर्सी जातको साँढेको वीर्य उपलब्ध छ।
भोजपुर नगरपालिका–८, पोखरेका किसान उपेन्द्र कार्कीले आफ्ना गाईमा दुई पटक कृत्रिम गर्भाधान गराइसकेका छन्। पहिले प्रजननका लागि उपयुक्त साँढे खोजेर गाई लैजानुपर्नेमा अहिले प्राविधिक गोठमै आइपुग्ने भएकाले सजिलो भएको उनले बताए। नस्ल सुधारसँगै दूध उत्पादन पनि बढेको उनको अनुभव छ।
केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार प्राविधिकले गोठमै पशुको अवस्था हेरेर गर्भाधानको उपयुक्त समय र स्वास्थ्य हेरचाहबारे किसानलाई सल्लाह दिन्छन्। दूध उत्पादन बढाउन चाहने किसानले आफ्नो आवश्यकता अनुसार जात छान्न सक्ने र दुर्गम भेगका किसानको समय तथा खर्च पनि जोगिने उनले बताए।





