१० मंसिर २०८३, बुधबार

कार्कीलाई विशेष सुरक्षा सल्लाहकार बनाउनु बर्खास्तगी नभएको महान्यायाधिवक्ताको जिकिर

ड्रागन मिडिया सम्वाददाता

महान्यायाधिवक्ता नारायणदत्त कँडेलले निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्नु बर्खास्तगी नभएको जिकिर गरेका छन्। कार्कीले पुनर्बहाली माग्दै दायर गरेको रिटमाथि बुधबार सर्वोच्च अदालतमा भएको सुनुवाइमा कँडेलले सरकारले उनको अनुभवको मूल्याङ्कन गरेर नयाँ जिम्मेवारी दिएको तर्क गरे।

राष्ट्रिय सुरक्षा परिषदमा नेपाल प्रहरीको प्रतिनिधित्व नरहेकाले प्रधानमन्त्रीलाई प्रहरी सेवाको अनुभव भएका सल्लाहकार आवश्यक परेको कँडेलको भनाइ थियो। जेनजी आन्दोलन र तराईका आन्दोलनका बेला काम गरेको अनुभवलाई आधार मानेर सरकारले कार्कीलाई उक्त जिम्मेवारी दिएको उनले बताए।

कँडेलले विशेष सुरक्षा सल्लाहकारका रूपमा कार्कीले प्रहरी महानिरीक्षकसरहकै सेवासुविधा पाइरहेको पनि दाबी गरे। सरकारको निर्णयको प्रतिरक्षा गर्दै उनले भने, ‘उहाँ त मुद्दा लिएर होइन, लड्डु लिएर आउनुपर्ने हो।’

मन्त्रीपरिषदले कात्तिक १८ गते कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार र मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। कार्कीले भने पदावधि बाँकी छँदै आफ्नो कुरा राख्ने अवसरसमेत नदिई प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको भन्दै निर्णय बदर गर्न माग गरेका छन्। रिटमा उनले आफूलाई पूर्ववत् पदमा फर्काउन र केसीलाई प्रहरी महानिरीक्षकका रूपमा काम गर्न रोक लगाउन अन्तरिम आदेशसमेत मागेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button