१२ मंसिर २०८३, शुक्रबार

चीनको २०३० सम्मको सञ्चार योजना सार्वजनिक, सिक्सजी र एआईका लागि कम्प्युटिङ पूर्वाधार विस्तारमा जोड

ड्रागन मिडिया समाचार कक्ष

चीनले सिक्सजी, उच्च गतिको अप्टिकल सञ्जाल र भूउपग्रह इन्टरनेटलाई देशभरका कम्प्युटिङ केन्द्रसँग जोड्ने गरी सन २०३० सम्मको सञ्चार योजना सार्वजनिक गरेको छ। योजनामा उपयुक्त समयमा सिक्सजी सेवा व्यावसायिक रूपमा शुरु गर्ने र चीनमै विकसित उन्नत चिप तथा प्रमुख सफ्टवेयरको प्रयोग विस्तार गर्ने लक्ष्य छ। सिक्सजी सेवा शुरु गर्ने निश्चित मिति भने तोकिएको छैन।

ग्लोबल टाइम्सका अनुसार चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय, साइबरस्पेस प्रशासन र राष्ट्रिय विकास तथा सुधार आयोगले बिहीबार संयुक्त रूपमा योजना सार्वजनिक गरेका हुन्। यो चीनको १५औँ पञ्चवर्षीय योजना (२०२६–३०) अन्तर्गत सञ्चारसँगै जल व्यवस्थापन, विद्युत सञ्जाल, कम्प्युटिङ, शहरी भूमिगत पाइपलाइन र मालसामान ढुवानीका पूर्वाधार विकास गर्ने कार्यक्रमको हिस्सा हो।

नयाँ सञ्जालमा फाइभजीको उन्नत संस्करण, सिक्सजी, १० गिगाबिटको अप्टिकल सञ्जाल र भूउपग्रह इन्टरनेट प्रयोग गर्ने योजना छ। मानिससँगै मेसिन, उपकरण र स्वचालित रूपमा काम गर्ने कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीलाई एउटै सञ्जालमा जोडेर स्थल, समुन्द्र, आकाश र अन्तरिक्षसम्म सञ्चारको पहुँच विस्तार गर्ने मन्त्रालयले जनाएको छ। यसबाट तथ्यांक संकलन र प्रसारणदेखि दिशानिर्देशन, भण्डारण र प्रशोधनसम्मका सेवा दिन सकिनेछ। सञ्जालको सुरक्षा बढाउने, अवरोधपछि सेवा बहाल गर्ने क्षमता सुधार्ने र कार्बन उत्सर्जन घटाउने विषय पनि योजनामा छन्।

कम्प्युटिङतर्फ चीनले गणना तीव्र बनाउने १० हजारभन्दा बढी कार्ड भएका ठूला कम्प्युटिङ केन्द्र विकास गर्न सेवा प्रदायकलाई सहयोग गर्नेछ। प्रमुख कम्प्युटिङ केन्द्र र सेवाको माग उच्च भएका क्षेत्रलाई प्रतिसेकेन्ड ४०० र ८०० गिगाबिट क्षमताका प्रसारण लाइनले जोड्ने तथा प्रतिसेकेन्ड १.६ टेराबिटको प्रणाली परीक्षण गर्ने योजना छ। देशभर कहाँ कति कम्प्युटिङ क्षमता उपलब्ध छ भन्ने हेर्न र आवश्यकताअनुसार काम बाँड्न साझा राष्ट्रिय प्रणाली पनि विकास गरिनेछ।

नान्काइ विश्वविद्यालयको अर्थशास्त्र संस्थानका निर्देशक लिउ गाङका अनुसार यस व्यवस्थाको उपयोग स्वचालित सवारीको उदाहरणबाट बुझ्न सकिन्छ। सडकको अवस्था हेरेर तत्काल प्रतिक्रिया दिनुपर्ने सवारीलाई नजिकैको कम्प्युटिङ सुविधा चाहिन्छ। तत्काल नतिजा आवश्यक नपर्ने काम भने पश्चिमी चीनका केन्द्रमा पठाएर प्रशोधन गर्न सकिन्छ। ठूला कम्प्युटिङ केन्द्रले एआई मोडेललाई प्रशिक्षण दिन र स्वदेशी चिपको प्रयोग विस्तार गर्न पनि सहयोग पुर्‍याउने उनको भनाइ छ।

अन्तर्राष्ट्रिय सम्पर्क विस्तार गर्न एसिया–प्रशान्त र एसिया–युरोप मार्गमा समुद्रमुनिका केबल विस्तार गर्ने, ब्रिक्स देशहरूबीच त्यस्तो केबल सञ्जाल विकास अघि बढाउने तथा विदेशमा डाटा सेन्टर र क्लाउड पूर्वाधार स्थापना गर्न समन्वय गर्ने प्रस्ताव छ। सिक्सजीका अन्तर्राष्ट्रिय मापदण्ड निर्धारणमा चीनले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ र थ्रीजीपीपीमार्फत सहकार्य गर्ने योजना पनि अघि सारेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button