१२ मंसिर २०८३, शुक्रबार

चीनले सेवा व्यापारको पाँचवर्षीय योजना सार्वजनिक गर्‍यो, बजार पहुँच विस्तार र आयात–निर्यात सन्तुलनमा जोड

ड्रागन मिडिया समाचार कक्ष

चीनले सेवा क्षेत्रको बजार थप खुला गर्ने र सन २०३० सम्ममा सेवा आयात र निर्यातबीचको अन्तर घटाउने लक्ष्यसहित पाँचवर्षीय योजना सार्वजनिक गरेको छ। सिन्ह्वाका अनुसार वाणिज्य मन्त्रालयसहित आठ निकायले बिहीबार संयुक्त रूपमा जारी गरेको योजनाले सन २०२६ देखि २०३० सम्मको अवधि समेट्छ।

योजनाअनुसार चीनले सीमापार सेवा व्यापारमा प्रतिबन्ध वा शर्त लागू हुने क्षेत्र तोक्ने ‘नकारात्मक सूची’को व्यवस्थापन सुधार्नेछ। सेवा बजारमा चरणबद्ध रूपमा पहुँच विस्तार गर्नुका साथै यस क्षेत्रका मापदण्ड पनि सुधारिनेछन्। तथ्यांक, जनशक्ति, पुँजी र प्रविधिको सीमापार आदानप्रदान सहज र सुरक्षित बनाउन विशेष ध्यान दिइनेछ। यसका लागि तथ्यांक स्थानान्तरणमा आवश्यक पूर्वाधार विकास गर्ने र अन्य देशसँग सहकार्य बढाउने योजना छ।

सन २०२६ को पहिलो नौ महिनामा चीनको कुल सेवा व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.५ प्रतिशतले बढेर ५७ खर्ब ६८ अर्ब ७७ करोड युआन पुगेको छ। यस अवधिमा सेवा आयात निर्यातभन्दा १२ खर्ब २५ अर्ब ९७ करोड युआन बढी थियो।

निर्यात बढाउन चीनले परामर्श, लेखा, कानुन र बौद्धिक सम्पत्तिसम्बन्धी सेवा दिने संस्थालाई विदेशी बजारमा काम गर्ने क्षमता विस्तार गर्न प्रोत्साहन गर्नेछ। उत्पादन प्रक्रियामा सघाउने सेवा, पर्यटन सेवा र सांस्कृतिक उद्योगको निर्यात प्रवर्द्धन गर्न छुट्टै कार्यक्रम सञ्चालन गरिनेछ।

आयाततर्फ अनुसन्धान तथा विकास, डिजाइन, सामग्रीको पुनर्चक्रण र वातावरण व्यवस्थापनसम्बन्धी सेवालाई प्राथमिकता दिइएको छ। चिनियाँ उपभोक्ताका लागि स्वास्थ्य सेवा, सांस्कृतिक प्रस्तुति र खेलकुद प्रतियोगितासहित उच्च गुणस्तरका विदेशी सेवा उपलब्ध गराउने तथा विदेशी चलचित्र र श्रव्यदृश्य कार्यक्रम भित्र्याउने विषय पनि योजनामा समेटिएका छन्।

चीनको विदेशी विनिमय प्रशासनका उपप्रमुख ली बिनका अनुसार सन २०२५ मा चीनले यात्रा, बौद्धिक सम्पत्ति, यातायात र व्यावसायिक सेवासहित ६२० अर्ब अमेरिकी डलरभन्दा बढीको सेवा आयात गरेको थियो। उनका अनुसार त्यस वर्ष चीन विश्वको दोस्रो ठूलो सेवा आयातकर्ता थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button