१२ मंसिर २०८३, शुक्रबार

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एपीएफसँग कोशी प्रदेश ११ रनले पराजित

ड्रागन मिडिया सम्वाददाता

कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा कोशी प्रदेशले पहिलो खेलमै पराजय बेहोरेको छ।

कालिञ्चोक क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई ११ रनले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। एपीएफका लागि प्रारम्भिक ब्याट्सम्यान दीपक बोहराले अर्धशतकीय पारी खेल्दै ५७ रनको योगदान दिए।

बलिङतर्फ कोशी प्रदेशका विपीन महतोले तीन विकेट लिए।

जितका लागि १५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो।

कोशीका लागि प्रारम्भिक ब्याट्सम्यान अंकित सुवेदीले ५२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

एपीएफका अमरसिंह रौतेलाले तीन विकेट लिँदै आफ्नो टोलीको जितमा महत्त्वपूर्ण योगदान पुर्‍याए।

यस जितसँगै एपीएफले पुरुष क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ। पहिलो खेलमा पराजित भएको कोशी प्रदेशले समूह चरणको दोस्रो खेलमा बागमती प्रदेशको सामना गर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button