विकास र जनहितका लागि राजनीतिक दलबीच साझा प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री आचार्य

ड्रागन मिडिया सम्वाददाता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्वाचनका क्रममा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा भए पनि निर्वाचनपछि मुलुकको विकास र जनताको हितका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
नवलपरासीको सुनवल नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय तहदेखि प्रदेश र समग्र मुलुकको विकासका लागि राजनीतिक दलहरूबीच सहकार्य, एकता र साझा प्रतिबद्धता आवश्यक रहेको बताएका हुन्।
निर्वाचनका समयमा राजनीतिक दलहरू आ–आफ्ना नीति, कार्यक्रम र नारासहित प्रतिस्पर्धामा उत्रिनु स्वाभाविक भए पनि निर्वाचनपछि विकास निर्माणका काममा एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
‘गाउँ बनाउन, पालिका बनाउन र सिंगो मुलुक बनाउन राजनीतिक दलहरू एक ठाउँमा उभिन जरुरी छ’, मुख्यमन्त्री आचार्यले भने।
राष्ट्रिय समाचार समितिका अनुसार मुख्यमन्त्री आचार्यले पछिल्लो ३५ वर्षमा नेपालले विकास निर्माणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन्।
विगतमा धुलाम्मे रहेका सडक पक्की बनेको, घरघरमा खानेपानीको पहुँच विस्तार भएको तथा विद्यालयको अवस्थामा सुधार आएको उल्लेख गर्दै उनले विकासका उपलब्धिको पनि उचित मूल्याङ्कन गर्नुपर्ने धारणा व्यक्त गरे।
सीमित श्रोत र साधनका कारण जनताका सबै अपेक्षा पूरा गर्न नसकिएको स्वीकार गर्दै मुख्यमन्त्री आचार्यले उपलब्ध श्रोतको सदुपयोग र प्राथमिकता निर्धारणका आधारमा विकास निर्माणका कामलाई निरन्तरता दिइने बताए।
प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्र, जिम्मेवारी र प्राथमिकताका आधारमा विकास निर्माणका कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै उनले सुनवल नगरपालिकाको विकासप्रति प्रदेश सरकारको दृष्टिकोण सकारात्मक रहेको स्पष्ट पारे।
सुनवल नगरपालिकाको आधुनिक प्रशासकीय भवन उद्घाटन
सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालको अध्यक्षतामा आयोजित समारोहमा मुख्यमन्त्री आचार्यले नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरेका हुन्।
भवन निर्माणका लागि मूल्य अभिवृद्धि करसहित ३० करोड ४४ लाख १२ हजार १२ रुपैयाँ ५३ पैसा लागत अनुमान गरिएको थियो।
एक हजार ५७६.८५ वर्गमिटर क्षेत्रफल रहेको साढे तीनतले प्रशासकीय भवनमा ७५ वटा कोठा, एउटा बहुउद्देश्यीय सभाहल र चारवटा बैठक कक्ष रहेका छन्।
भवनलाई भूकम्प प्रतिरोधी, वातावरणमैत्री तथा अपाङ्गता भएका व्यक्तिमैत्री संरचनासहित निर्माण गरिएको छ। भवनमा अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको भए पनि लिफ्ट जडानको काम भने बाँकी रहेको छ।
भवन निर्माणमा नेपाल सरकारको अर्थ मन्त्रालयबाट ४० प्रतिशत समपूरक अनुदान र सुनवल नगरपालिकाको ६० प्रतिशत लगानी रहेको छ।
तत्कालीन नगरप्रमुख भीमबहादुर थापाको अध्यक्षतामा २०७५ फागुन २६ गते तत्कालीन प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले उक्त भवनको शिलान्यास गरेका थिए।
बहुवर्षीय योजनाअन्तर्गत २०७५ चैत ११ गते ठेक्का प्रक्रिया अघि बढाइएको भवन निर्माणका लागि २०७६ असार १२ गते सम्झौता भएको थियो।
सम्झौताअनुसार ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि भवनको निर्माण कार्य २०८० माघ २३ गते सम्पन्न भएको थियो।
चार बिघा क्षेत्रफलमा फैलिएको प्रशासकीय भवन परिसरका लागि स्वर्गीय मुरारी शर्माको स्मृतिमा उनका छोराहरू ठाकुरप्रसाद शर्मा, किशोरप्रसाद शर्मा, अशोक शर्मा र लोकेश शर्माले चार कठ्ठा जग्गा दान गरेका थिए।
नवनिर्मित प्रशासकीय भवनले नगरपालिकाको प्रशासनिक कार्यसम्पादन व्यवस्थित बनाउन, सार्वजनिक सेवा प्रवाह सहज बनाउन तथा सेवाग्राहीलाई आवश्यक सुविधा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





