१३ मंसिर २०८३, शनिबार

रुसी नौसेनामा अत्याधुनिक आणविक पनडुब्बी ‘पर्म’ समावेश

ड्रागन मिडिया समाचार कक्ष

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उपस्थितिमा शुक्रबार आणविक ऊर्जाबाट सञ्चालित बहुउद्देश्यीय क्षेप्यास्त्रवाहक पनडुब्बी ‘पर्म’ औपचारिक रूपमा रुसी नौसेनामा समावेश गरिएको छ।

रुसको अर्खान्गेल्स्क क्षेत्रस्थित सेभेरोद्भिन्स्कमा आयोजित विशेष समारोहमा रुसी नौसेनाको सेन्ट एन्ड्र्यु ध्वज फहराएर पनडुब्बीलाई नौसैनिक सेवामा प्रवेश गराइएको हो।

रुसी समाचार संस्था तासका अनुसार राष्ट्रपति पुटिनले पनडुब्बीको निर्माण, उपकरण जडान तथा परीक्षणमा संलग्न वैज्ञानिक, इन्जिनियर, प्राविधिक, रक्षा उद्योग र प्रविधि कम्पनीहरूको योगदानको प्रशंसा गरेका छन्।

‘पर्म’ यासेन–एम परियोजनाअन्तर्गत निर्माण गरिएको पाँचौँ बहुउद्देश्यीय आणविक पनडुब्बी हो। चौथो पुस्ताको यो पनडुब्बीको निर्माण सन २०१६ मा शुरु गरिएको थियो भने सन २०२५ मा जलावतरण गरिएको थियो।

सबै चरणका परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि नोभेम्बर १० मा यसको स्वीकृति प्रमाणपत्रमा हस्ताक्षर गरिएको थियो।

‘पर्म’ हाइपरसोनिक जिरकोन क्रुज क्षेप्यास्त्रको नियमित वाहकका रूपमा निर्माण गरिएको पहिलो पनडुब्बी भएको तासले जनाएको छ। यसमा अत्याधुनिक विद्युतीय प्रणाली, ऊर्जा संयन्त्र तथा सैन्य प्रविधि समावेश गरिएका छन्।

स्वदेशी उद्योगबाट उत्पादित उपकरण तथा सामग्री प्रयोग गरी निर्माण गरिएको यो पनडुब्बी रुसी नौसेनाको आधुनिकीकरण कार्यक्रमअन्तर्गतको महत्त्वपूर्ण उपलब्धि हो।

समारोहमा रुसी नौसेनाका प्रधान सेनापति अलेक्जान्दर मोइसेयेभसहित वरिष्ठ सरकारी तथा सैन्य अधिकारीहरूको उपस्थिति थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button