सुरक्षण मुद्रण केन्द्रमा मासिक ६२ हजार स्मार्ट चालक अनुमतिपत्र छपाइ
ड्रागन मिडिया सम्वाददाता
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्रले मासिक सरदर ६२ हजार क्यूआर कोडसहितका स्मार्ट चालक अनुमतिपत्र छपाइ गरिरहेको छ।
केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार चालु आर्थिक वर्षको साउनयता दुई लाख ५० हजार चालक अनुमतिपत्र छपाइ गरिएको छ। यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयबाट प्राप्त विवरणका आधारमा अनुमतिपत्र छपाइ तथा वितरणका लागि सम्बन्धित कार्यालयमा पठाउने गरिएको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म केन्द्रले २७ लाख ४७ हजार चालक अनुमतिपत्र छपाइ गरेको थियो। पहिलो चरणमा १२ लाख र दोस्रो चरणमा १५ लाख ४७ हजार अनुमतिपत्र छपाइ गरिएको हो।
केन्द्रले गत आर्थिक वर्षमा हुलाक सेवा विभागसँगको सम्झौताअनुसार करिब ९० लाख हुलाक टिकटसमेत छपाइ गरेको थियो।
हाल केन्द्रमा नौ जना इन्जिनियर र १६ जना प्राविधिक कर्मचारी कार्यरत छन् भने निर्माणाधीन बहुउद्देश्यीय भवनको काम अन्तिम चरणमा पुगेको छ।
लामो समय प्रयोगविहीन रहेको सूचना प्रविधि पार्कलाई सरकारले छ वर्षअघि सुरक्षण मुद्रण केन्द्रमा परिणत गरेको थियो। कुल २५७ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रमा सुरक्षित मुद्रणका लागि आवश्यक पूर्वाधार विकास गरिएको छ।
केन्द्रबाट राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्ट कार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर तथा सिमकार्डलगायत सामग्रीको सुरक्षित मुद्रण गर्न सकिने जनाइएको छ।
सुरक्षण मुद्रण केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आए सुरक्षित मुद्रणका लागि विदेशिने वार्षिक करिब १० अर्ब रुपैयाँ जोगिने अपेक्षा गरिएको छ।





