तीन प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा शनिबार हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
शनिबार दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति कोशी, तराईको मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान छ।
आइतबार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागसहित गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा आइतबार पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।





