जनविश्वास बढाउने गरी काम गर्न प्रहरी महानिरीक्षक केसीको निर्देशन

ड्रागन मिडिया सम्वाददाता
प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले नागरिकमैत्री, पारदर्शी, उत्तरदायी तथा प्रभावकारी सेवा प्रवाहमार्फत प्रहरी सङ्गठनप्रति जनविश्वास अभिवृद्धि गर्न निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालयमा सरुवा भई विभिन्न कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षकहरूसँगको भेटमा महानिरीक्षक केसीले सम्भावित सुरक्षा चुनौतीको पहिचान तथा विश्लेषण गरी प्रभावकारी सुरक्षा रणनीति र योजनाबद्ध प्रहरी परिचालनमा जोड दिएका हुन्।
उनले साइबर अपराध, सीमाक्षेत्रमा हुने अपराध, तस्करी नियन्त्रण, अवैध हातहतियार बरामद तथा फरार प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।
प्रहरी कर्मचारी व्यावसायिक, अनुशासित, निष्ठावान् र इमानदार हुनुपर्ने उल्लेख गर्दै उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अल्पसङ्ख्यक समुदायप्रति थप संवेदनशील बन्न आग्रह गरेका छन्।
महानिरीक्षक केसीले पीडितका गुनासाको उचित सम्बोधन, प्रहरी सेवा सरलीकरण तथा आधारभूत तहका प्रहरी कर्मचारीका समस्या समाधानमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
भीड नियन्त्रणका क्रममा बल प्रयोगसम्बन्धी सिद्धान्त पालना गर्न निर्देशन दिँदै उनले स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्यमार्फत शान्ति सुव्यवस्था तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
भेटमा केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेसहित वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो।





