चुहार पुलको लागत बढाएर निर्माण अघि बढाइँदै, राजनीतिक जसको होड

ड्रागन मिडिया सम्वाददाता
उदयपुर र भोजपुर जोड्ने दूधकोशी नदीस्थित चुहार पुलको निर्माण प्रक्रिया वर्षौँपछि अघि बढेको छ। कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजनाको लागत २२.८५ प्रतिशत बढाउने निर्णय गरेसँगै निर्माणको बाटो खुलेको हो। यद्यपि लागत वृद्धि र प्राविधिक त्रुटिसम्बन्धी प्रश्न अझै निरुपण भएका छैनन्।
पूर्वाधार विकास निर्देशनालय इटहरीले निर्माण कम्पनी कालिका प्यासिफिक ज्वाइन्ट भेन्चरको ठेक्का सम्झौतामा चार करोड ८५ लाख रुपैयाँभन्दा बढी रकम थप्ने गरी भेरिएसन आदेश स्वीकृत गरेको छ। शुरुमा २१ करोड २३ लाख रुपैयाँमा सम्झौता भएको पुलको लागत अब २६ करोड आठ लाख रुपैयाँभन्दा बढी पुगेको छ।
निर्माण प्रक्रिया अघि बढेसँगै कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र राजेन्द्रकुमार राई, भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, प्रदेश सांसद सिर्जना राई तथा सङ्घीय सांसद ध्रुव राईको भूमिकालाई लिएर राजनीतिक वृत्तमा जस लिने प्रतिस्पर्धा शुरु भएको छ।
पूर्वमुख्यमन्त्री शेरधन राईले चुहार पुल आफ्नो प्राथमिकताको आयोजना भएको दाबी गर्दै राजनीतिक हस्तक्षेपका कारण निर्माण अवरुद्ध भएको आरोप लगाएका छन्। अर्का पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले भने विगतका विवाद त्यागेर निर्माण सम्पन्न गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताएका छन्।
यसैबीच, कोशी प्रदेशसभाको सार्वजनिक लेखा समितिमा पुलको डिजाइन, स्थान छनोट, उचाइ र लागत वृद्धिको वैधानिकताबारे गम्भीर प्रश्न उठेका छन्।
पूर्वभौतिक पूर्वाधार विकासमन्त्री एवं सांसद भूपेन्द्र राईले स्वीस सहयोगमा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदनमा प्राविधिक त्रुटि रहेको दाबी गरेका छन्। सांसद रेवतीरमण भण्डारीले अतिरिक्त रकम भुक्तानीको कानुनी आधारमाथि प्रश्न उठाउँदै संसदीय छानबिनको माग गरेका छन्।
समितिमा उठेका प्रश्नको निरुपण नहुँदै मन्त्रालयका सचिव मिलन आचार्यको निर्णयबाट भेरिएसन आदेश स्वीकृत गरिएको रातोपाटीले जनाएको छ।
उदयपुरको बेलका नगरपालिका–७ र भोजपुरको हतुवागढी गाउँपालिका–८ जोड्ने उक्त पुलको २०७७ असोज २६ गते शिलान्यास गरिएको थियो। दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको ९० मिटर लामो र साढे १० मिटर चौडा दुई लेनको स्टिल ट्रस पुल पटक–पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन।
पक्की पुलको अभावमा सडक सञ्जाल जोडिए पनि सवारीसाधन वारपार गर्न सकेका छैनन्। स्थानीयवासी पुरानो झोलुङ्गे पुलबाट भरियामार्फत सामान ढुवानी गर्न बाध्य छन्।
राजनीतिक नेतृत्वबीच जस लिने प्रतिस्पर्धा चलिरहँदा स्थानीयवासी भने प्राविधिक सुरक्षा, आर्थिक पारदर्शिता र समयमै पुल निर्माण सुनिश्चित भई वर्षौँदेखिको सास्ती अन्त्य हुने प्रतीक्षामा छन्।





