१३ मंसिर २०८३, शनिबार

नारायणगढ–मुग्लिङ सडक आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ड्रागन मिडिया सम्वाददाता

नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउन आइतबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माका अनुसार पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सडक बन्द गर्न लागिएको हो।

तुइनखोलामा वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने समस्या बढेपछि सडक डिभिजन कार्यालय भरतपुरले आधुनिक प्रविधिको प्रयोगबाट दीर्घकालीन समाधान खोज्न लागेको छ।

पहिरो प्रभावित भिरलाई फलामका किला गाडेर मजबुत बनाउने ‘नेलिङ’ प्रविधि, भूमिगत पानीको तेर्सो निकास तथा जैविक इन्जिनियरिङ प्रविधि प्रयोग गरिनेछ।

सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माका अनुसार पहिरो रोकथामका लागि कम्तीमा १५ दिन दैनिक पाँच घण्टा सडक बन्द गर्नुपर्ने प्रारम्भिक अनुमान छ। यद्यपि प्राविधिक मूल्याङ्कनपछि कामको वास्तविक अवधि निर्धारण गरिनेछ।

पृथ्वी राजमार्गको घोप्टेभीरमा भइरहेको काम सम्पन्न भएपछि तुइनखोलामा गत असोजदेखि रोकिएको पहिरो रोकथामको काम पुनः अघि बढाइनेछ।

काठमाडौं–मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले सडक बन्द रहने समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न यात्रु तथा यातायात व्यवसायीलाई अनुरोध गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button