अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ ।
नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुन्छ।
विश्व योग दिवस २१ जुनमा मनाइएपनि नेपालका अभियानकर्मीहरुले माघ १ गतेलाई नेपालको राष्ट्रिय योग दिवस घोषणा गराएका थिए। योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण शुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।
राससका अनुसार हाल नेपालमा माघ १ गते राष्टिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाउने गरिन्छ। यसैबीच राष्ट्रपति, उपराष्ट्रपति, पर्यटनमन्त्री लगायतले योग दिवसमा शुभकामना दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउँने तनावबाट मुक्त गराउने र सकारात्मक उर्जा प्राप्त हुने विश्वास गर्नुभएको छ । उहाँले योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना एवम् स्थिरतातर्फ डोर्याउने भएकाले मानिसलाई स्वस्थ्यकर जीवनयापनका लागि शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योग अभ्यासले सहयोग पुर्याउँने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विश्वव्यापी रुपमा एकता, शान्ति र स्वास्थ्यको सन्देश प्रवाह गर्ने योग हजारौं वर्ष पुरानो पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंशको रुपमा रहेको देखिन्छ । विभिन्न कारणबाट मानिसमा देखिने तनाव तथा प्रदूषण र प्रतिस्पर्धा आदिबाट जटिल बन्दै गएको मानव जीवनलाई सहज, सरल र स्वस्थ्य बनाउन योग अभ्यासलाई जीवन शैलीका रुपमा उपयोग गर्न जरुरी छ ।’’
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नियमित योग अभ्यासले मानसिक तनाव न्यूनीकरण, सकारात्मक विचारधाराको विकास तथा अन्तरमनको शान्ति स्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ । विशेषतः हृदयघात, मधुमेह र अन्य दीर्घकालीन रोगहरूको रोकथाम तथा नियन्त्रणमा यसको प्रभावकारिता वैज्ञानिक रूपमा प्रमाणित भइसकेकोले स्वस्थ जीवनशैलीको अभ्यासमार्फत हामी समृद्ध राष्ट्र र सशक्त समाज निर्माणको मार्गमा अग्रसर हुन सक्नेछौँ ।’ उपराष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले योग नेपालको मौलिक, सांस्कृतिक र प्रयोगात्मक सम्पत्ति भएको बताउनुभएको छ ।





