नेपालको ऊर्जा पूर्वाधारमा प्राविधिक तथा वित्तीय सहयोग दिन चीन तयार

चीनले नेपालको ऊर्जा क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। चीनका ऊर्जा प्रशासक वाङ होङचले नेपालको ऊर्जा पूर्वाधार विकासका लागि आवश्यक प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्ने चीन सरकारको इच्छा जाहेर गर्नुभएको हो।
चीनको भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँगको भेटमा चीनका ऊर्जा प्रशासक वाङले नेपालको ऊर्जा क्षेत्रको पछिल्लो अवस्थाबारे चासो प्रकट गर्दै सहकार्यको तत्परता देखाएको मन्त्री खड्काका निजी सचिव सन्दीप रायले बताउनुभएको हो।
साङहाई सहयोग संगठन (एससीओ) ऊर्जा मन्त्रीस्तरीय बैठकको लागि हाल खड्का चीन भ्रमणमा हुनुहुन्छ। चच्याङ प्रान्तको निङ्पोमा बैठक सम्पन्न भएको दिन शुक्रबार मन्त्री खड्काले चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक वाङ होङचसँग भेटवार्ता गर्दै द्विपक्षीय ऊर्जा चासोका बारेमा छलफल गर्नुभएको कान्तिपुर अनलाइनले लेखेको छ।
भेटवार्तामा मन्त्री खड्काले चीन सरकारले न्यानो आतिथ्य सत्कार सहित साङहाई सहयोग संगठनको ऊर्जा मन्त्रीस्तरीय बैठकलाई सफलताका साथ आयोजना गरेकोमा बधाई ज्ञापन गर्नुभयो। भेटमा नेपाल–चीनबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास र ऊर्जा क्षेत्रको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा सौहार्दपूर्ण कुराकानी भएको थियो।





