नेपाल–चीन डिजिटल स्वास्थ्य सहकार्य

नेपाल र चीनका स्वास्थ्य क्षेत्रका विज्ञहरूले आपसी डिजिटल स्वास्थ्य प्रणाली आत्मसात् गर्दै अगाडि बढ्न सुझाएका छन्। प्रविधिको तीव्र विकासको फाइदा र असल छिमेकपनको लाभस्वरूप सहकार्यलाई गहन पार्नुपर्नेमा जोड दिएका छन्।
चीनको क्वानचौस्थित नेपाली महावाणिज्य दूतावासले बिहीबार साँझ भर्चुअल र भौतिक तरिकामार्फत आयोजना गरेको ‘स्वास्थ्य सेवाको भविष्य सम्पर्क: नेपाल–चीन डिजिटल स्वास्थ्य सहकार्य’ विषयक कार्यक्रममा यस्तो धारणा व्यक्त गरिएको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भिडियो सन्देश पठाउँदै चिनियाँ उद्यमीहरूलाई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न आमन्त्रण गर्नुभयो। चीनले विगतदेखि नै नेपालको स्वास्थ्य सेवामा टेवा पुर्याउँदै आएको मन्त्री पौडेलको भनाइ छ। कोभिडदेखि नेपालको आयुर्वेदिक स्वास्थ्य क्षेत्रमा चीनले दिएको साथ र समर्थनको उहाँले प्रशंसासमेत गर्नुभयो। नेपाल र चीनबीच इतिहासकालदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहेको र यस वर्ष नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव भएको पनि उल्लेख गर्नुभयो।
पछिल्लो समय प्रविधिको योगदानले स्वास्थ्य क्षेत्रले फड्को मारेको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले बताउनुभयो। चीनले नेपालका ठूला विपत्तिदेखि लिएर नियमित रूपमा स्वास्थ्य सहायता दिँदै आएको स्मरण गर्दै मन्त्री मगरले चीनको प्रविधिबाट नेपालको स्वास्थ्य क्षेत्र लाभान्वित हुन चाहेको व्यक्त गर्नुभयो। ग्लोबल डिजिटल अग्रणीका रूपमा चीनबाट पछिल्ला उन्नत प्रविधिबाट नेपालको स्वास्थ्य क्षेत्रले फाइदा लिन चाहेको उहाँले बताउनुभयो।
नेपालमा सिभिल हस्पिटलदेखि २०१५ भूकम्प वा कोभिड–१९ महामारीलगायतमा चीनको अतुलनीय सहयोगको महावाणिज्यदूत भरत खनालले स्मरण गर्नुभयो। अबको जमाना प्रविधिमैत्री भएकाले डिजिटल हेल्थ सिस्टमको प्रभावकारिता बढ्दै जाने उहाँको भनाइ छ। ‘पहुँचयुक्त तथा सुलभ स्वास्थ्य सेवा तब मात्रै सम्भव हुन्छ, जब सबैका लागि डिजिटल हेल्थ केयरको अवधारणा विकास गर्न सकिन्छ,’ उहाँले भन्नुभयो। नेपाल सरकारले पनि डिजिटल प्रविधिलाई प्राथमिकतामा राखेको र प्रविधिमा फड्को मारेको चीनबाट सहकार्यको अपेक्षा गरिएको उहाँले बताउनुभयो।
नेपाल चीनबीच स्वास्थ्य स्तरोन्नतिमा सहकार्य गर्न सकिने क्वाङतोङ स्वास्थ्य आयोगका उपमहानिर्देशक तङ लिनफङले औँल्याउनुभयो। क्वाङतोङ प्रान्तमा भइरहेको डिजिटल विकास र प्रयोगबाट जनजीवन लाभान्वित भएको बारेमा उहाँले जानकारीसहित प्रस्तुत गर्नुभयो।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच गत डिसेम्बरमा भएको भेटवार्ता स्मरण गर्दै क्वाङचौ स्वास्थ्य आयोगका उपमहानिर्देशक चौ रुइह्वाले आपसी मित्रता र सहकार्यबारे चर्चा गर्नुभयो। क्वाङतोङ प्रान्त नै डिजिटल हेल्थ इनोभेसनमा अग्रणी र मुख्य योगदानकर्ता भएकाले नेपालले पनि यसबाट फाइदा लिन सक्ने उहाँको भनाइ छ ।
चाइनिज एकेडेमी अफ साइन्स, क्वाङचौ इन्स्टिच्युट अफ बायोमेडिसिन एन्ड हेल्थ, चिनियाँ सन यात्सेन हस्पिटल, साउदर्न मेडिकल युनिभर्सिटी हस्पिटल, क्वाङतोङ फर्मास्युटिकल युनिभर्सिटी, मेडिकल उद्यमी, निजी अस्पताल, चीनमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थी, रोजगारीका सिलसिलामा रहेका नेपालीलगायतका प्रतिनिधि कार्यक्रममा उपस्थित रहेको कान्तिपुर अनलाइनले लेखेको छ।





