जगाऔँ आत्मविश्वास साथमा उद्घोषणकला पुस्तकको समिक्षात्मक टिप्पणी
पुस्तक समीक्षा

विषयप्रवेश
पुस्तक लेखन आफैंमा एक जटिल कार्य हो । भनिन्छ “पुस्तक कागजमा लेखिन्छ तर लेखकको लागि यो ढुंगामा शिलालेख लेख्नु जत्तिकै गाह्रो हुन्छ” । विषयवस्तुको ज्ञान हुनु र विषयवस्तुलाई मिलाएर लेख्नसक्ने लेखक हुनु फरककुरा हुन् । ज्ञान हुँदैमा लेखक बन्न सकिँदैन । विषयवस्तुको छनोट, विषयवस्तुको क्रमबद्धता, सम्बन्धित क्षेत्रका पुराना तथा समसामयिक ज्ञान र प्रचलन, वर्तमान परिवेश तथा लेखकसँग भएका अनुभव लगायतका कुराहरूको सुहाउँदो गठबन्धनबाट एउटा पुस्तकले मूर्त स्वरूप प्राप्त गर्दछ । पुस्तक लेखिसकेपछि त्यसमा लेखकको भन्दा पाठकको अधिकार बढी हुन्छ त्यसकारण त्यो पुस्तकलाई कुन रुपमा स्वीकार गर्ने भन्ने कुरा पाठकहरुमा निर्भर हुन्छ । पाठक तथा समीक्षकहरुबाट प्राप्त हुने सल्लाह सुझाव र टिप्पणीहरुले लेखकलाई अझै बढी जिम्मेवार बनाउन मद्दत गर्दछ त्यसै सन्दर्भमा मैले अध्ययन गर्न मौका पाएको पुस्तक जोगाऔँ आत्मविश्वास साथमा उद्घोषणकलाको समिक्षा गर्ने प्रयास गरेको छु ।
लेखक तथा पुस्तक परिचय
बर्दिया जिल्लामा नै जन्मेर जिल्ला सदरमुकाम गुलरियामा अवस्थित राधाकृष्ण थारु बंगलामुखी माध्यमिक विद्यालयमा शिक्षण पेशामा आवद्ध प्रभात सुवेदी यस जिल्लामा मात्र नभएर शिक्षण संगीत साहित्य उद्घोषण तथा संचार र प्रबिधिको क्षेत्रमा नेपालका अधिकांश भागहरु मा आफ्नो सफल पहिचान बनाइसकेको व्यक्तित्व हुनुहुन्छ । एउटा शिक्षकको रूपमा रहेर शिक्षाको क्षेत्रमा देखा परेका समस्याहरुका सन्दर्भमा बिभिन्न लेख रचनाहरु मार्फत आफ्ना विचार र भाबनाहरु प्रस्तुत गर्दै आएका लेखकले आफ्नो दुई दशक लामो शिक्षण पेशाको अनुभवको आधारमा २०७३ सालमा जगाऔँ आत्मविश्वास शीर्षकमा यस पुस्तकलाई पहिलो पटक प्रकाशित गर्नु भएको थियो । पाठकहरूको सुझावको आधारमा २०७८ सालमा यसको दोस्रो परिमार्जित संस्करण जगाऔँ आत्मविश्वास साथमा उद्घोषणकला शीर्षकमा हालै बजारमाआएको छ । उत्प्रेरणात्मक आलेख विधामा तयार पारिएको यो पुस्तक दुईवटा खण्डमा विभाजन गरिएको छ पहिलो खण्ड पुस्तकको प्रमुख शिर्षक जगाऔँ आत्माविश्वास संग सम्बन्धित छ जसमा बाह्रवटा अलग अलग शीर्षकका उपयोगी आलेखहरु समावेश गरिएका छन् । भने दोस्रो खण्डमा उद्घोषणकला सम्बन्धी पाँचवटा आलेखहरु र बर्दिया जिल्लाका स्थानीय तहका शिक्षा अधिकारीहरु र विद्यालयका प्रधानाध्यापकहरुका नाम र सम्पर्क नम्बर समेत उल्लेख गरिएको छ । पुस्तकको बाहिरी आवरणलाई रंगीन र चित्र सहित आकर्षक बनाइएको छ । मध्यम आकारमा रहेको यो पुस्तकमा १३६ पृष्ठ छन् । मूल्यको आधारबाट हेर्दा व्यक्तिगत मूल्य १५० र संस्थागत मूल्य २५० निर्धारण गरी बर्दिया अफसेट प्रेसबाट प्रकाशन गरी बजारमा ल्याइएको छ ।
पुस्तक समीक्षा/ समीक्षात्मक खण्ड
यो पुस्तक उत्प्रेरणात्मक आलेख विधामा तयार गरिएको छ । पुस्तकले विशेषगरी बालबालिकाहरुले आफूभित्रको प्रतिभाको पहिचान गरी कसरी आफूलाई सफल बनाउन सक्दछन् भन्ने पक्षमा जोड दिएको छ पुस्तकको पहिलो खण्डमा जगाऔँ आत्माबिश्वास शीर्षकमा बाह्र वटा आलेखहरु समावेश गरिएका छन् । पहिलोआलेख जगाऔँआत्माबिश्वास भन्ने मुल शीर्षकमा रहेको छ जसअन्तर्गत हरेक विद्यार्थीले आफ्नो लक्ष्य र उद्देश्य कसरी निर्धारण गर्ने ? आफ्नो योजना कार्यान्वयन तथा जीवन जिउनका लागि आत्मविश्वासको भूमिका र विद्यार्थीले परीक्षामा सफलता प्राप्त गर्न कस्तो आत्मविश्वास आवश्यक पर्छ ? भन्ने कुराहरु उजागर गरिएको छ । यसैगरी दोस्रो आलेख अन्तर्गत थोरै पढौँ धेरै बुझौं र गल्ती नसिकौँ भन्ने शीर्षक राखी मानिसले किन गल्ती गर्छ ? आफ्नो योजनाको कार्यान्वयन कसरी गर्ने ? समयको व्यवस्थापन कसरी गर्ने ? भन्ने सन्दर्भमा महत्वपूर्ण कुराहरु उल्लेख गरिएका छन् । कुनै पनि मानिस पूर्ण ज्ञानले युक्त हुँदैन ज्ञानका क्षेत्रहरु असीमित छन् त्यसैले आफुले नजानेका कुराहरु कुनैपनि भेदभाव नराखी आफु भन्दा जान्ने मानिसलाई सोध्नु पर्छ भन्ने मूल भावका साथ नजानेको सोधौं भन्ने शीर्षकमा तेस्रो आलेख तयार गरिएको छ । हरेक विद्यार्थीको सफलताको पछाडि पढाइ मात्र जिम्मेवारी हुँदैन। आफुले पढेका कुराहरु उत्तरपुस्तिकामा लेख्दा अक्षरहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ । आकर्षक अक्षरहरुले विद्यार्थीको लेखाइलाई र उत्तरपुस्तिका परीक्षण गर्ने परीक्षक लाईपनि प्रभावित गर्दछ । त्यसैले राम्रो अक्षर कसरी बनाउन सकिन्छ भन्ने बारेमा केही आवश्यक सूत्रहरु सहित चौथो आलेख तयार गरिएको छ । हामीले दैनिक रुपमा केही न केही पढेका हुन्छौ तर पढेका सबै कुराहरु सम्झन सकिँदैनन् । हामीले पढेका कुराहरुलाई कसरी सम्झन सकिन्छ र पढ्ने विषयवस्तुहरूलाई सूत्रहरु निर्धारण गरी कसरी पढ्न सक्छौँ भन्ने सन्दर्भमा पाँचौं आलेख तयार गरिएको छ । परीक्षामा यसरी लेखौँ भन्ने शीर्षकमा छैटौं आलेख तयार गरिएको छ । यसअन्तर्गत परिक्षाको समयमा विद्यार्थीहरुले आफ्नो उत्तरपुस्तिकालाई कसरी व्यवस्थित गर्ने । उत्तरपुस्तिकामा लेख्दा ध्यान पुर्याउनु पर्ने कुराहरूको बारेमा अत्यन्तै उपयोगी जानकारिहरु समावेश गरिएको छ । संसारमा सबैभन्दा समय बलवान् हुन्छ हरेक मानिसको जीवनमा समयको उत्तिकै महत्व हुन्छ । त्यसमा पनि विद्यार्थी जीवनमा र परिक्षाको समयमा यसको झन् बढी महत्व हुन्छ । आफ्नो पठनपाठनको समयमा र परीक्षाको समयमा समयलाई व्यवस्थापन गर्न सकिने उपयोगी जानकारीहरु समावेश गरी समय व्यवस्थापन शीर्षकमा सातौं आलेख तयार गरिएको छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरू कम उमेर साथै मानसिक रुपमा पनि अपरिपक्क हुन्छन् । त्यसैले उनीहरु के गर्ने ? के नगर्ने ? भन्ने सन्दर्भमा ठोस निर्णयमा पुग्न सक्दैनन् । यस्तो अवस्थामा एउटा असल अभिभावकको खाँचो हरेक बालबालिकाहरुलाई पर्दछ यसै कुरालाई ध्यानमा राखी विद्यार्थीहरूको लागि अभिभावकको भुमिका शीर्षकमा आठौ आलेख तयार गरिएको छ।
ठुलो वा सानो जुनसुकै उमेर समूहका व्यक्तिहरुलाई पनि आफूले परीक्षा दिनुपर्दा परीक्षा प्रति एक प्रकारको स्वभाविक डर उत्पन्न हुन्छ । यसलाई उचित तरिकाले व्यवस्थापन गर्न नसकेमा परीक्षामा सफलता प्राप्त गर्न सकिँदैन त्यसैले परीक्षामा सहभागी हुँदा के कस्ता कुराहरुमा विचार पुर्याउनु पर्दछभन्ने शीर्षकमा नवौ आलेख तयार गरिएको छ । परीक्षाको लागि हलभित्र प्रवेश गरिसकेका विद्यार्थीहरुले ध्यान दिनुपर्ने कुराहरु समावेश गरी दशौं । आलेख तयार गरिएको छ भने परीक्षापछिको समय वा फुर्सदको समय सदुपयोग गर्न सकिने विभिन्न उपयोगी उपायहरू उल्लेख गरी एघारौ आलेख तयार गरिएको छ । हरेक मानिस आफू जीवनमा सफल र राम्रो हुन चाहन्छ तर सबै मानिसको यो चाहना कुरा हुन सक्दैन । विभिन्न कारण र परिस्थितिले गर्दा कतिपय मानिसले आफ्नो जीवन सोचेजस्तो सफल बनाउन सकेका हुँदैनन् । त्यसैले जीवन सफल बनाउनका लागि कस्ता कुराहरुमा ध्यान दिनुपर्दछ । सफल मानिस बन्ने उपयोगी जानकारीहरु सहित बाह्रौ आलेख तयार गरिएको छ।
पुस्तकको दोस्रो खण्ड उद्घोषणकला सँग सम्बन्धित छ हरेक मानिसले आफूले जानेबुझेका कुराहरु सहि तरिकाले व्यक्त गर्न चाहन्छ। कुनैपनि मञ्चमा वा कार्यक्रमहरूमा आफुले जानेका कुराहरु र लागेका कुराहरु निर्धक्कसँग ब्यक्त गर्ने सक्ने कला सबै मानिसहरुमा हुँदैन । यसको लागि व्यक्तिहरुमा कार्यक्रमहरुलाई कसरी सम्बोधन गर्ने आफ्नो मनमा लागेका कुराहरु उचित शब्दहरूको प्रयोग गरी निर्धारित समयभित्र कसरी व्यक्त गर्न सकिन्छ । र आफूले भनेका शब्दहरूबाट दर्शक वा श्रोताहरूको मन जित्न सक्ने कला नै उद्घोषण कला हो । पुस्तकको यस खण्डमा लेखकले उद्घोषण को परिचय उद्घोषण ऐतिहासिक विकास तथा उद्घोषणका प्रकार साथै यसको महत्व र तरिकाहरूको बारेमा जानकारीमुलक कुराहरु उल्लेख गरेको छ । यतिमात्र नभई वर्तमान समयमा सञ्चारमाध्यमहरूको लोकप्रियता बढ्दै गइरहेको अवस्थामा रेडियो टेलिभिजन एफएम लगायतका अन्य सञ्चारमाध्यमहरूको लागि कसरी कार्यक्रमहरु उत्पादन गर्ने र उत्पादन गरेका कार्यक्रमहरुलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा सिक्न चाहने सिकारुहरुका लागि उपयुक्त हुने तरिकाले आधारभूत ज्ञानहरु पनि समावेश गरी पुस्तकलाई बढी उपयोगी बनाइएको छ । पुस्तकको अन्तिम भागमा बर्दिया जिल्लामा अवस्थित सबै स्थानीय तहका शिक्षा अधिकारीहरु तथा बर्दिया जिल्ला भित्रका विद्यालय र प्रधानाध्यापकहरुको नाम र सम्पर्क नम्बर उल्लेख गरी शिक्षा क्षेत्रमा काम गर्ने संघसंस्था र व्यक्तिहरुका लागि यो पुस्तक उपयोगी अझ बढी उपयोगी सिद्ध बनाइएको छ ।
निष्कर्ष तथा सुझाव
वर्तमान विश्वमा बढ्दै गइरहेको बिज्ञान र प्रविधिको कारणले गर्दा ज्ञानका क्षेत्रहरु असीमित बन्दै गएका छन् । हरेक बालबालिकाहरूआफ्नो भविष्य उज्ज्वल बनाउन चाहन्छन् भने हरेक अभिभावकले आफ्ना बालबालिकाहरुलाई अरूका बालबालिकाहरू भन्दा राम्रो र पृष्ठ भएको हेर्न चाहन्छन् । तर कसरी सफलता प्राप्त गर्ने आफुमा भएको प्रतिभा को प्रयोग गरी आफ्नो क्षमतालाई कसरी प्रस्फुटन गर्ने। भन्ने उचित ज्ञान र सीपको अभावमा सबै बालबालिका अभिभावकहरूको यो पवित्र चाहना पूरा भएको पाइँदैन । ति बालबालिकाहरू जो कठिन परिश्रम गर्दापनि सफल हुन सकिरहेका छैनन् र ति अभिभावकहरु जसले आफ्ना बालबालिकाहरुलाई सफल बनाउने इच्छा हुँदाहुँदै पनि सफल बनाउने तरिकाहरु नजानेको कारण बालबालिकाहरुलाई डर त्रास र धम्कीपूर्ण तरिकाले सफल बनाउन खोजिरहेका छन् यी दुबै पक्षका लागि यो पुस्तक अत्यन्त उपयोगी छ । विशेषगरी विद्यालयमा अध्ययन गर्ने कलिला उमेरका बालबालिकाहरू पढ्ने तरिका र उपयुक्त लेखनशैली नजानेका कारण आफूले सोचे जस्तोसफलता पाउन सकिरहेका छैनन् कतिपय अवस्थामा निरन्तर रुपमा असफल भइरहेका छन् । यस्तो निरन्तर असफलताको कारणले कतिपय बालबालिका आत्महत्या गर्ने वा पढाइप्रति वितृष्णा पैदा भई विद्यालय छोड्ने र विभिन्न प्रकारका दुर्व्यसन तथा गलत बाटोमा लागेका उदाहरणहरू पनि हाम्रो अगाडि प्रशस्तै छन् । बालबालिकाहरुमा हुने यस्ता समस्याहरुबाट मुक्त गर्नको लागि यो पुस्तक निकै नै लाभदायक हुनेछ ।
पुस्तक लेखनको क्रममा लेखकले आफूले शिक्षण कार्य गरिरहदा आफ्नै कक्षा कोठाका बालबालिकाहरूको स्तर र आफूले प्राप्त गरेका अनुभवहरुलाई आधार बनाएको छ पुस्तकमा राखिएका हरेक शिर्षकहरु बालबालिकाहरूको जीवन सफल बनाउने भर्याङको रुपमा सहयोगी सिद्ध हुने देखिन्छन् यस पुस्तकको अर्को विशेषता हरेक आलेखको समाप्तिसँगै म आज देखि यो कार्य पुस्तकमा उल्लेख भए बमोजिम गर्छु भनि प्रतिबद्धता गराइएको छ । कुनै पनि विषयवस्तु कसरी पढ्ने पढाइका कुराहरु कसरी सम्झने र आफुले जानेका कुराहरु परीक्षामा लेखेर कसरी नम्बर ल्याउन सकिन्छ भन्ने तर्फ विशेष जोड दिएको छ। पुस्तक लेखनको काममा निकै सरल भाषाको प्रयोग गरिएको छ। साथै शाब्दिक वा भाषिक त्रुटिहरू पनि एकदमै न्यून मात्रामा रहेका छन् । अन्य विधाका पुस्तकहरु तुलनामा उत्प्रेरणा आधारित पुस्तकहरु कमै मात्रामा लेखिने गर्दछन् । यस्तो अवस्थामा लेखकले आफ्नै मौलिक स्वयंसिद्ध अनुभवहरुलाई समेटेर विद्यार्थी, अभिभावक, शिक्षक तथा शिक्षा क्षेत्रमा काम गर्ने हरेक व्यक्तिका लागि उपयोगी हुने गरी पुस्तक तयार गर्नु यसका सकारात्मक पक्षहरु हुन् ।
पुस्तक लेखन कार्य आफैंमा एउटा जटिल कार्य लेख्ने क्रममा लेखकले चाहेर वा नचाहेर पनि सबै विषयवस्तुहरु समावेश गर्न सकिएको हुँदैन भने कतिपय विषयवस्तुहरुमा लेख्ने पर्ने कुराहरु छुट्ने पनि गर्दछन् । यस्ता कुराहरुलाई पाठक र समीक्षकका सुझावहरुको आधारमा नयाँ संस्करणमा सुधार गर्दै जानुपर्ने हुन्छ । यसैक्रममा यस पुस्तकमा पनि आगामी संस्करणमा केही पक्षहरुमा सुधार गर्नुपर्ने देखिन्छ जुन निम्नानुसार छन् ।
१ लेखकले यस पुस्तकमा आफ्नै मौलिकअनुभवहरुलाई समावेश गरेको छ तर पुस्तक लेखनको नियमअनुसार पुस्तक तयार गर्ने क्रममा आफूले प्रयोग गरेका वा यसक्षेत्रमा लेखिएका पुस्तकहरुलाई सान्दर्भ सामग्रीको रुपमा समावेश गर्नुपर्ने हुन्छ यो पुस्तक लेखनको क्रममा सन्दर्भ सामग्री समावेश नगरिएकोले आगामी संस्करणमा समावेश गर्नुपर्ने देखिन्छ ।
२ उत्प्रेरणात्मक पुस्तकहरु प्रकाशन गर्दा केवल मोलिक अनुभवहरुलाई मात्र समावेश नगरी विषयवस्तुको प्रकृतिअनुसार सकेसम्म उक्त क्षेत्रका सफल व्यक्तित्वहरुका सफलताका कथाहरु उदाहरणको रुपमा समावेश गर्दा पाठकहरुलाई अझ बढी सहयोगी हुन्छ ।
३ पुस्तक मूल्यको हिसाबले केही महंगो हुनेभएपनि पुस्तकमा प्रयोग भएका चित्रहरू सकेसम्म रंगिन पृष्ठमा प्रकाशन गरेमा पुस्तकको सुन्दरता बढ्नुका साथै पाठकहरुलाई पनि यसले बढी आनन्द दिन सक्दछ ।
४ पुस्तकको दोस्रो आलेख लेखकले मानिस किन गल्ती गर्छ भन्ने सन्दर्भलाई जोड्न खोज्नु भएको छ । यसलाई सामान्य तथ्यहरुका आधारमा मात्र नभई गल्तीको मनोविज्ञान यसका सैद्धान्तिक र व्यवहारिक पक्षहरूलाईसमेत विश्लेषण गरी उल्लेख गर्दा राम्रो हुन्छ ।
५ पुस्तकको चौथो आलेखमा राम्रा अक्षर यसरी लेखौँ भन्ने शीर्षक अन्तर्गत अक्षर लेख्ने तरिकाहरु सिकाइएको छ । यस्ता कुराहरुलाई सैद्धान्तिक रुपमा मात्र लेख्नु भन्दा कुनै राम्रो अक्षर भएको विद्यार्थीले लेखेका कुराहरुलाई नै फोटोको रुपमा पुस्तकमा समावेश गर्दा पाठकहरुलाई प्रभावित गर्न सकिन्छ ।
६ सबै बालबालिकाहरूको मस्तिष्क एकै प्रकारको हुँदैन । कुनै बालबालिकाहरूले पढेका कुराहरु थोरै समयमा सम्झिन सक्छन् लामो समयसम्म मस्तिष्कमा राख्न सक्दछन् भने कुनै बालबालिकाहरूको यो क्षमता कमजोर हुन्छ । लेखकले यस पुस्तकमा पढेका कुराहरु सम्झनको लागि विभिन्न तरिकाहरु र सूत्रहरु उल्लेख गरेको छ । तर मानिसको स्मरणशक्ति उसको खानपान र व्यवहारसँग पनि प्रत्यक्षरुपमा सम्बन्धित हुने हुँदा स्मरणशक्ति बढाउनका लागि आवश्यक पर्ने खानपान ध्यान दिनुपर्ने मनोवैज्ञानिक पक्षहरुलाई पनि पुस्तकमा समावेश गर्नु आवश्यक देखिन्छ ।
७ विद्यार्थीहरुले परीक्षा हलभित्र उत्तर कसरी लेख्ने भन्ने सन्दर्भमा लेखकले थुप्रै पक्षहरुमा जोड दिँदै परीक्षार्थी ध्यान दिनुपर्ने कुराहरु उल्लेख गर्नुभएको छ । तर प्रश्नमा समावेश गरिने क्रियापदहरु जस्तै वर्णन गर, व्याख्या गर, समालोचना गर, विश्लेषण गर ,पुष्टि गर, जस्ता क्रियापदहरुको उत्तर कसरी लेख्ने भन्ने सन्दर्भमा पनी उल्लेख गर्नु आवश्यक छ ।
८ लेखकले यस पुस्तकमा बालबालिकाहरूको सफलतामा अभिभावकको भूमिका वारे उल्लेख गर्नुभएको छ तर बालबालिकाहरूको सफलताको लागि शिक्षक को भुमिका पनि महत्वपूर्ण हुन्छ जसलाई समावेश गर्नुपर्ने देखिन्छ ।
९ “स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्कको वास हुन्छ” त्यसैले शरीर र मस्तिष्कको स्वस्थताको लागि के-कस्ता शारीरिक र मानसिक अभ्यास हरु आवश्यक हुन्छन् । योग ध्यान जस्ता कुराहरुले बालबालिकाहरूको पठनपाठनलाई कसरी व्यवस्थित बनाउन सक्छ भन्ने कुराहरु पनि पुस्तकमा समावेश गर्नु आवश्यक छ ।
१० वर्तमान समयमा बालबालिकाहरू पाठ्यपुस्तकमा मात्र नभई मोवाइल ल्यापटप तथा अन्य विद्युतीय सामग्री हरूको प्रयोगमा बढी व्यस्त भएको देखिन्छ । यस्ता सामग्रीहरुको प्रयोग कति मात्रामा कसरी गर्ने भन्ने सन्दर्भमा पनि यस पुस्तकमा उल्लेख हुनु आवश्यक छ ।
समग्रमा लेखकले आफ्नो क्षमता र विवेकको प्रयोग गरी दुई दशक लामो शिक्षणका क्रममा देखि भोगेका विषयवस्तुहरू समावेश गरी विद्यार्थी र अभिभावकका लागि उपयोगी हुने तरिकाले लेख्ने प्रयास गरेको छ लेखकको यो प्रयास अत्यन्त प्रशंसनीय छ यस पुस्तकले भविष्यका कर्णाधार बालबालिकाहरूको सफलतामा एउटा इट्टा थप्ने काम गरेको छ यसकोलागि लेखकलाई हार्दिक बधाई र धन्यवाद सहित आगामी कृतिहरू अझै विश्वसनीय र स्तरीय बन्दै जाउन हार्दिक शुभकामना व्यक्त गर्दछु ।