भाडा दिन खोज्दा पर्स गायव : लुटिँदाको तीतो क्षण (काठमाडौँ यात्रा भाग ४) – प्रभात सुवेदी

म त लुटिएँ, तपाईंहरु नलुटिनुहोला ल !

“यात्रा जारी थियो । बसमा सामान्य भीड थियो । दशरथ रङ्गशालाको मोडनिर पुग्दा उ मसँगै लेपसिएर दायाँ हातले झ्यालको डण्डि समातेर करिब ४/५ पटक झ्यालबाट ‘ख्वाक्क थु’ ‘ख्वाक्क थु’ ‘ख्वाक्क थु’ गरिरह्यो । यसरी थुक्दा मलाई लाग्यो कति फोहोरी मान्छे होला, किन यसरी थुकेको होला भनेर म अलिक तर्किएँ र पछिल्तिर धकेलिएँ । उसको बायाँ हातले त सत्यानाश पारिसकेको रहेछ मैले आशङ्काको त के कुरा अनुमान पनि लगाउन सकिनँ ।”

आजभन्दा करिब २६ वर्ष पहिले अध्ययनका लागि काठमाडौं छिरेको हो । दाजुहरू पहिले नै बस्नुभएकोले मलाई बस्नका लागि त्यति समस्या भएन । पाटन संयुक्त क्याम्पसमा बिहानी शत्रमा भर्ना भई बिएस्सी अध्ययन गर्न थालेको हुँ । केही समय मैतिदेवी अनि घट्टेकुलो हुँदै मध्य वानेश्वरमा बसाई गरियो । वि.सं. २०५३ सालमा प्रवेश गरेको राजधानीबाट आफ्नो स्नातकोत्तरको अध्ययनपश्चात अर्थात् वि.सं. २०६० सालमा नि.मा.वि. तहको शिक्षकका लागि नाम निस्केकोले भर्खरै शुरु भएका प्रगतिका सि‌ढीहरु थाँती राखेर गाउँतिर फर्किने सोच भएर बर्दिया फर्केँ । शोधपत्र र अन्य कार्यका लागि केही समय काठमाडौं आउने जाने क्रम चलि नै रह्यो ।
यसरी यति लामो समयसम्म काठमाडौं बस्दा कयौँ सार्वजनिक सवारी साधन चढियो होला । गोदावरी, त्रिभुवन पार्क, नगरकोट, धुलिखेल लगायतका नजिकैका पर्यटकीय स्थलहरुमा साथीहरू मिलेर कयैंपटक ड्राइ पिक्निक पनि गयौँ । लाखौँ, करोडौँ पदचापहरू राजधानीका सडकहरूमा छाडियो होला । कलेज जाँदा पनि कति सकस थियो भन्ने कुरा आफ्नै मनलाई थाहा छ । गफ हैन पैसा नभएर हिँडेरै गइन्थ्यो । अझ जाडोको समयमा अँध्यारो हुने भएकोले डर मानी मानी जानु पर्दथ्यो । अझ बाटोमा वधशाला पर्ने गर्थ्यो । नचाहेर ती दृश्यहरू आँखा सामुन्ने आउँथे । ती अबोध पशुहरूले मृत्युवरण अगाडि निकालेका कारुणिक ध्वनीहरू सुन्दा मन फाटेर आउँथ्यो । त्यसैले कहिलेकाहीँ त आँखा र कान बन्द गरेर केही मिटरको दूरी पार गर्ने गर्थेँ ।
मेरा केही अनन्य साथीहरू जो अझै पनि निरन्तर सम्पर्कमा हुनुहुन्छ, वहाँहरूसँगको सामिप्यता निकै मिठो थियो । शेरु सिंह ठकुरी, प्रकाश गौतम, धर्म न्यौपाने, दिवाकर बराल, हेमन्त जि.सी., कृष्णप्रसाद घिमिरे लगायतका साथीहरू एकै घरका दाजुभाइ जस्तै गरी मित्रताको साइनोमा गाँसियौँ । सार्हो गार्हो पर्दा हामी एकअर्काका बीचमा सहयोगको आदानप्रदान हुन्थ्यो ।
यति लामो समय काठमाडौं बस्दा एउटा सामान्य घटना बाहेक अन्य केही पनि दुःखद अवस्था भोग्नु परेन । शुरुवातमा म शिक्षण अस्पताल जाँदै गर्दा साथमा रू. ५०० लिएर गएको थिएँ । मैतिदेवीनिर एएटा सानो मेला जस्तो कार्यत्रम रहेछ । के रहेछ भनी हेर्न भनी गएँ । केही युवाहरू ल ल ल यो खेल खेल्नुहोस्, डबल पैसा जित्नुहोस् भनेर भने । एउटाले जबरजस्ती ल ल यहाँ थाप्नुस् त पैसा डबल हुन्छ भनेर भन्यो । म भर्खरैको ठिटो विश्वासमा परी त्यही ५०० थापिदिएँ । हुन पनि डबल, त्रिबल हुँदै चौब्बल सम्म भयो । मलाई झनै हौषला थपियो । ल गज्जप भनेर अर्कोपटक चौब्बल भएको २ हजार सप्पै हानिदिएँ । त्यसबेला भने नतिजा मेरो पक्षमा आएन । आएको सबै गयो र आफ्नो पैसा पनि गयो । हस्पिटल जान भनेर हिँडेको यसरी थाहै नपाइकन जुवा खेलाइएको रहेछ सबै पैसा गएपछि मलाई त चक्कर लागेछ, त्यही रुँदै ढलेछु । झण्डै बेहोस जस्तै भएको अवस्थामा ओए… भयो भयो फिर्ता दे भनेर एउटाले भनेपछि मलाई मेरो गुमेको ५ सय रुपैंया फिर्ता दिए र म अस्पताल पुगेँ । त्यस घटनाले मलाई जीवनमा यस्ता विषयमा सचेत बनायो र कहिल्यै पनि त्यस बाटोमा हिडिएन । यो बाहेक अन्य घटनाहरू केही भएकै थिएनन् । तर, करिब तीन दशकपछि काठमाडौं पुग्दा भने पहिलोपटक ठगीको मारमा परियो ।
कसरी भयो घटना :
छोरीलाई कक्षा ११ मा भर्ना गर्नको लागि काठमाडौं बडो दुःखका साथ पुगेको कुरा त यस अधिकै आलेखमा उल्लेख भइसकेको छ । १६ गतेको यात्राबाट हामी बाटो जाम भएर १८ गते पुग्यौँ । १९, २०, २१, २२ गतेसम्म त कलेज अनि बसाई व्यवस्थापन र केही विद्यालयका कामहरू जस्तै सम्पत्ति विवरण फाराम बुझाउने, कदरपत्र तयार गर्ने र नानुको पुनर्योगको आवेदन दिने जस्ता काममा अल्मलियौँ । खासै निष्कर्ष त्यतिबेलासम्म निस्किसकेको थिएन । यस कार्यका लागि मनमैजु माध्यमिक विद्यालयकी प्रधानाध्यापक रविना महर्जन बहिनीले ठूलो गुन लगाउनुभएको छ । २२ गतेका दिन हामी (म र छोरी) कलङ्की चोकदेखि बागबजार पुग्नुपर्ने थियो । खासमा विद्यालयबाट निवृत्त शिक्षकहरूका लागि बनाउन दिएको कदर–पत्र लिनु पर्ने थियो । यसो सोचेँ, रत्नपार्कको गाडिमा गएपछि त नानुलाई केही स्थलगत अवलोकन पनि हुनेँ थोरै हिँडेर बागबजार पुगिने भएकोले सोहि अनुसार योजना बनाएँ । केहीबेर कलङ्की मन्दिरनिर गाडि पनि कुर्यौँ । माइक्रो वा मिनीबस के चढौँ केहिबेर अल्मलिएँ म । नजिकै आएको माइक्रोमा झोला सहित बस्ने स्थान अलिक अफ्ठेरो हुने मानेर मिनी बसमा बस्यौँ । नानीलाई महिला सिटमा राखेर म त्यसैको ठिक अघिल्तिर बसेँ । ड्राइभर पछाडि भएकाले मलाई बसको चाल र बसाइ उल्टा भएकोले अलिक चक्कर लागेजस्तो भयो र अगाडिपट्टि अशक्त असहायको सिटमा एकजना युवक बसेको र एक सिट खाली भएकाले त्यसैमा बस्ने निधो गरी कालिमाटी पुगेपछि सिट चेन्ज गरेँ । उसलाई मैले झ्यालतिर सर्ने सङ्केत गरेँ तर उसले उल्टै मलाई झ्यालतिर जान सङ्केकत गरेकाले मैले नाइ नास्ति गरिन र सुरुक्क झ्यालतिर बसेँ । सानो साइड ब्यागमा बाइरोडको बाटो हुँदै आउँदा किनेको ल्वाङ्ग सुकुमेल थियो । त्यही झिकेर खानका लागि चेन खोलेर एउटा ल्वाङ्ग र सुकमेल खाएँ । त्यो मानिसको नजर कतिबेला मेरो सानो व्यागमा परेछ, त्यही बेला उसले त्यो ब्यागभित्रको पर्समा नजर गाडिसकेको रहेछ ।
यात्रा जारी थियो । बसमा सामान्य भीड थियो । दशरथ रङ्गशालाको मोडनिर पुग्दा उ मसँगै लेपसिएर दायाँ हातले झ्यालको डण्डि समातेर करिब ४/५ पटक झ्यालबाट ‘ख्वाक्क थु’ ‘ख्वाक्क थु’ ‘ख्वाक्क थु’ गरिरह्यो । यसरी थुक्दा मलाई लाग्यो कति फोहोरी मान्छे होला, किन यसरी थुकेको होला भनेर म अलिक तर्किएँ र पछिल्तिर धकेलिएँ । उसको बायाँ हातले त सत्यानाश पारिसकेको रहेछ मैले आशङ्काको त के कुरा अनुमान पनि लगाउन सकिनँ । अनि रोक्नै नमिल्ले ठाउँमा खलासीलाई ए…भाइ मलाई यहिँ रोकिदिनु भन्यो, उसले भन्यो, ‘यहाँ रोक्नै मिल्दैन’, हैन हैन स्लो गर्नु न म झरिहाल्छु नि, महिलालाई पो गार्हो हामी त झरिहाल्छौँ नि ! भनेर खानेपानी कार्यालयनिर हातमा भएको १५ रुपियाँ दिएर स्वाट्टै झरिहाल्यो ।
गाडि सुन्धारा हुँदै रत्नपार्क पुग्दै थियो । मैले भाडा दिने तयारीका लागि पर्स छामछुम पारेँ । बाहिरी चेन खुल्लै रहेछ । यता छामेँ उता छामेँ । भए पो भेटिने त ! आफ्नो त सत्यानाशै पारिसकेको रहेछ त्यो बज्जियाले ।
अनि नजिकै बस्नुभएकी एक जना महिलाले भनिन् ‘तपाईको पर्स हरायो हो?’, मैले भने ‘मलाई पनि त्यस्तै लागिरहेछ ।’ हो अघि तपाईंसँग बसेको मान्छे मलाई त चोर जस्तो लागेको थियो । थुक्ने निहूँ बनाएर तपाईँसँग टाँस्सिएर पर्स लुटेजस्तो लाग्यो मलाई त ! अब म प्रष्ट भएँ कि ‘म लुटिएँ’ अर्थात् मेरो पर्स चोरी भैसकेको थियो । आङ्ग सिरिङ्ग भयो, अवाक भएँ, भूकम्प गएझैँ भयो, मनमनै भनेँ हे भगवान् मलाई किन यस्तो आपत् आइलाग्यो? मैले कसको के बिगारिदिएँको थिएँ ? अनि छोरीको अगाडि मन दर्हो बनाएँ र आफैलाई सम्झाएँ दुःखमा नआत्तिनु भनेर अरुलाई सिकाएको कुरा आफैतिर तेसारेर चित्त बुझाईकन बसमा भाडा नदिएरै हामी रत्नपार्क हुँदै बागबजारको बाटो लाग्यौँ । ठिकै छ अब दिनु पर्ने ठाउँमा अनलाइन दिनु पर्ला भनेर मनलाई थम्थम्याएँ । तर, संसारमा कोही नहुँदा भगवानले साथ दिन्छन् भनेको कुरा साँचो रहेछ । यसरी हिँड्दै गर्दा गुलरियाकै चिरपचित व्यक्तिसँग अचानक जम्काभेट भयो । वहाँलाई पहिलोपटक यो घटना सेयर गरी मन हलुका पारेँ । वहाँले हैन सर, ‘समस्या भए भन्नुस् है भन्नुभयो’ के खोज्छस्… आँखा’ भनेझै मलाई भयो र वहाँसँग केही रकम मागेर बागबजार पुगेँ । मैले विद्यालयबाट बनाउन दिएको कदरपत्र लिने ठाउँमा पनि यो घटनाका बारेमा बताउँदा वहाँले पनि ‘बरु मलाई बर्दिया पुगेर पठाइदिनुस् न सर त्यस्तो हो भने बरु हजुरलाई भाडा छैन भने निशङ्कोच भन्नुस् है भन्नुभयो ।’ पीडामा पनि बडो आनन्द लाग्यो । आपत् परेको बेलामा कसैको वचनले पनि त्यो आपतरुपी पीडालाई कम गर्न मद्दत पुग्ने रहेछ । तर, मसँग अनलाइन पेमेन्टको विकल्प भएकाले त्यही प्रयोग गरेँ र केही परिमाणलाई त हार्ड क्यास पनि बनाएँ । त्यसपछि त्यहाँबाट हामी फर्क्यौँ।
यसरी काठमाडौँ कति अस्तव्यस्त रहेछ, लुटेराहरु दिनदहाडै सार्वजनिक यातायातमै कसरी सल्बलाइरहेका छन् र सार्वजनिक यातायात कति असुरक्षित रहेछ भन्ने कुरा भोगियो । पर्समा छोरीलाई भर्ना, ड्रेस, होस्टल भर्ना र मोबाइल किनिदिनका लागि भनेर पैसा राखेको थिएँ । अब हजुरले अनुमान गर्नुहोला मैले भनिन कति थियो भनेर ।
यो घटनामा म त राज्यकै दोष देख्छु । नैतिक तथा संस्कारयुक्त शिक्षाको अभाव हुनु, युवाहरु वेरोजगार हुनु र समाजमा बढ्दै गएको आपराधिक मानसिकताको उपज नै यस्ता प्रकारका घटनाहरू खुल्लेआम घट्ने गरेका छन् । यदि तपाईंहरू काठमाडौं जाँदै हुनुहुन्छ अथवा बस्नुहुन्छ भने यस्ता कुरामा सदैव सचेत रहन आग्रह गर्दै म जस्तै नलुटिनका लागि सचेत गराउँदछु ।

म त नराम्रोसँग लुटिएँ, तपाईं नलुटिनुहोला । मेरो पर्स चोरी गर्नेको भलो त पक्कै हुने छैन । तैँले लगेको मेरो पैसा, सेतो धन हो कालो धन पनि थिएन । बालबालिकाहरूलाई ज्ञान दिएर सेवा गरेवापत राज्यबाट पाएको तलब थियो तैँले लुटेको पैसा बुझिस् ! तलाईं त त्यो पैसाले सराप्ने नै छ यति मात्रै हैन तेरो प्राण सुखले पनि जाँदैन । सग्ला हातगोडा थिए । कमसेकम चोर्ने औँलाहरुले सुकर्म गरेर कमाएको भए हुने थियो नि । कस्तो आमाको कोखबाट जन्म लिइस् ? तँ त नेपाल आमाको लागि भार होस् । यो पृथ्वीको लागि भार होस् । मलाई मात्रै हैन अझै कतिलाई यसैगरी तड्पाइसकिस् होला है । एकदिन त तेरो पाप धुरीबाट अवश्य कराउला ! यसरी आक्रोशित भएँ म क्षमा पाउँ । यदि कथंकदाचित उसकै मोबाइलमा यो लेख पुगेर पढिहालेर मन फिरेमा ९८४८०४३४९५/9848043495 मा इसेवा (E-Sewa) गरेर पठाइदिएमा उसको बुद्धि फिरेको भनेर फेरी एउटा अर्को लेख लेखुँला नभए त अब माया मार्ने त होला है !

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button