दशैंतिहार तरकारीको बहार : राजापुरमा टनेलमा तरकारी उत्पादन
कृषि उद्यम

बर्दिया जिल्लाको राजापुर नगरपालिकाका वडा नं. ७, ८ र ९ का महिलाहरु कृषि समुह बनाई तरकारी खेती तर्फ आकर्षित भएका छन् ।
हालै कृषि समुहमा आबद्ध महिलाहरुले व्यवसायिक तालिम प्राप्त पाएपछि बेमौसमी तरकारी उत्पादन गर्नका लागि अग्रसर भइरहेका छन् । राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाले कार्यक्षेत्रमा महिला समुह गठन गरी कार्यक्रम संचालन गरिरहेको छ । संस्थाबाट टनेल सहयोग र प्राविधिक सहयोग पाएपछि बन्जारीटाँडाका ५ जना, दीपनगरका ३ जना, अनन्तपुरका ४ जना, इश्वरीगञ्जका २ जना, भिम्मापुर र पुरैनाका १/१ जना गरी १६ जनाले टनेलभित्र टमाटर उत्पादन गर्ने योजना बनाइ टमाटर रोपिरहेका छन् ।
यो समयमा उत्पादन गरिएको टमाटरले बजार सजिलै पाउने र दशैतिहारमा राम्रो मूल्य पाउन सकिने कृषकहरुको भनाइ रहेको छ । प्रविधिको प्रयोग गरेर थोरै जग्गामा धेरै उत्पादन गर्न सकिने र बेच्न पनि सजिलो हुने भएकोले हामीले टनेलको प्रयोग गरेर तरकारी खेती गर्न संस्थासँग टनेल माग गरेको कृषकहरु बताउँछन् । संस्थाले टनेल बनाउने प्लाष्टिक उपलब्ध गराएपछि बाँस, डोरी लगायत गाउँघरमा पाइने सामग्री प्रयोग गरेर टनेल निर्माण गरिएको हो । टनेल निर्माण गर्दा प्राविधिक सहयोग पनि संस्थाबाट नै गरिएको कुरा लालीगुराँस महिला कृषि समुह बन्जारीटाँडाको अध्यक्ष साबित्री थारुले बताउनुभयो ।
विगत दुई वर्षदेखि राजापुर नगरपालिकाको वडा नं. ७, ८ र ९ मा लुथरन वल्र्ड फेडेरेशन र राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको संयुक्त साझेदारीमा संचालित समुदाय सशक्तिकरण तथा विकासका लागि पहल (LICED) परियोजना संचालन गरिरहेको कुरा कार्यक्रम संयोजक जीतराम चौधरीले बताउनुभयो ।