उत्परिवर्तन, ठण्डी र सुरक्षा

सम्पादकीय

वास्तवमा अव पृथ्वीले पनि कतिसम्म सहन गर्न सक्ने हो यसको पनि त कुनै दायरा त होला नि ! इयोन, इपोच अनि एराका कुरा गरिरहँदा हामी सत्य, त्रेता, द्वापर र कली युगको पनि स्मरण गरिरहेकै छौँ । प्रत्येक कालखण्डका अन्त्य भनेको कुनै न कुनै विध्वंसबाट हनै हुने गरेका इतिहासहरु छन् । आधुनिक मानव सभ्यताको पनि लामो कालखण्ड पार भैसकेको छ । मानिसले आफूलाई हरेक किसिमबाट अब्बल सावित गर्दै अगाडि बढिरहेको छ । दुनियालाई प्रविधिका माध्यमबाट चमत्कार देखाउँदै अगाडि बढिरहेको छ । रमिरहेको छ मानिस तर दुःखको कुरा यसरी रमिरहँदा भने मानिसमा कुनै पनि कोणबाट खुशी भने देखिदैन । यहि खुशी प्राप्तिका लागि भने मानिस भौंतारिरहेको अवस्था छँदैछ । तर जहाँ जता गएपनि कुनै हिसाबले पनि उसले चाहेको खुशी पाइरहेको छैन । गौतम् वुद्धले भनेजस्तै संसारमा दुःखै दुःख नै पाइरहेको छ ।
यस्तै परिस्थिती वर्तमानमा सिर्जना भएको हो कि भन्ने जस्तै लागेको छ । एकातिर विश्व मानवमा आधुनिक प्रविधिको होड चलिरहेको छ भने अर्कातिर मानिस र प्रकृतिबीचको डरलाग्दो लडाईं पनि । यस्तो अवस्थामा अब मानिस मानिसले आफैबीच युद्ध गर्ने हो कि प्रकृतिका चुनौतीहरु सामना गर्ने हो यो निकै सोचनीय अनि गम्भीर रुपमा रहेको विषय हो । यस्ता विषयहरुले कहिलेकाहीँ मानव समुदायलाई नराम्रोसँग झस्काइरहेका छन् । तर यस्ता विषयहरुमा भने सिङ्गो मानव समुदाय नै एकाकार भएर यस्ता चुनौतीहरुको सामना गरिरहेको छ । यो निकै खुशीको विषय पनि हो तर यसमा केही स्वार्थहरु प्रेरित भइदिँदा भने कताकता निरसता भने छाएको छ ।
यसैबिच अब विस्तारै मौसममा पनि परिवर्तन हुँदैछ । चिसो बढीरहेको छ । मौसममा आउने परिवर्तनसँगसँगै विभिन्न रोगहरु तथा संक्रमणहरु फैलिने सम्भावना पनि उत्तिकै रहन्छ । उता कोरोना भाइरस डेल्टा पछि ओमिक्रोन भेरियन्टका रुपमा देखा परिरहेको छ । यो उत्परिवर्तनले विगतकै जस्तो हुने त होइन भन्ने चिन्ता सर्वत्र छाइरहँदा हामी पनि हरेक तरहले सुरक्षित हुन आवश्यक छ । यसका लागि शुरुवात त व्यक्तिबाटै गर्नु पर्दछ । यसमा सरकार वा राज्यले त सचेतना मात्रै फैलाउने हो बाँकी सचेत हुने र तदनुरुपमा सावधानीहरु अपनाउने त आम जनमानसले नै हो । यसका लागि अपनाउनु पर्ने सावधानीहरुका विषयमा निरन्तर रुपमा चर्चा भैरहेकै छ । बदलिँदो मौसम अनि भाइरसको उत्परिवर्तनको समयमा हामीले समयमै ख्याल नगरेमा पुनः गत वर्षकै जस्तो फागुन, चैत्रमा फेरि अर्को बन्दाबन्दीको अवस्था भोग्नु नपरोस् । त्यसैले यस सवालमा साँच्चिकै संवेदनशील भएर स्वास्थ्य सचेतना फैलाउनु जरुरी छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button