दसैँ नजिकिँदै गर्दा नेपाल र चीनबीचका व्यापारिक नाकामा बढ्दो चाप

नेपालमा दसैँ नजिकिएसँगै भन्सार नाकाहरूमा चाप बढ्न थालेको छ। विशेष गरी चीनसँग जोडिएको रसुवा भन्सार कार्यालयबाट हुने आयात उल्लेख्य बढेको  त्यहाँका भन्सार अधिकारी र व्यापारीहरूले बताएका छन्। दसैंकेन्द्रित सामान बढेको तथा तातोपानी नाकामा देखिएको बाटोको समस्याका कारण पनि यो नाकामा चाप बढेको हिमालय सीमापार व्यवसायी संघका अध्यक्ष रामहरि कार्कीले बताउनुभयो। तर तातोपानी नाकाबाट पनि विगतको तुलनामा निकै आयात बढेको छ। विगतको तुलनामा अहिले आयात–निर्यात सहज रहेको उहाँले बताउनु भएको सेतोपाटी अनलाइनले लेखेको छ।

अहिले रसुवा भन्सार कार्यालयको यार्डभित्र सामान बोकेका चार सय बढी गाडीहरू छन्। यसको अर्थ यी गाडीको अझै जाँचपास गरिएको छैन। अत्यधिक चापका कारणले जाँचपासमा केही ढिलाइ भएको भन्सार निर्देशक रविन्द्रप्रसाद प्याकुरेलले बताउनुभयो।

‘दसैंका कारण सामान्य अवस्थाको तुलनामा निकै चाप बढेको छ, हामी यथाशक्य छिटो जाँचपास गर्ने  गरिरहेका छौं,’ प्याकुरेलले भन्नुभयो। विगतमा यो नाकाबाट फलफूलको आयात न्यून हुने गरेकोमा अहिले अत्यधिक मात्रामा भएको प्याकुरेलले बताउनुभयो।  तातोपानी नाकाबाट सामान ल्याउन ढिलाइ हुने भएपछि रि-रूट गरेर पनि रसुवाबाट ल्याइएको उहाँको भनाइ छ।

अहिले दिनकै २५ गाडीभन्दा बढी चिनियाँ स्याउ यो नाकाबाट आयात भएको छ। त्यस्तै विद्युतीय सामग्री, लत्ता कपडा, रोल कपडा, किचनका सामग्री तथा फलफूलको आयात उल्लेखनीय रहेको भन्सार कार्यालयले जनाएको छ।

भदौ लागेपछि विद्युतीय सवारी साधनको आयात पनि अत्यधिक भएको भन्सार कार्यालयले बताएको छ। एकै दिनमा ३०/३५ वटा गाडी जाँचपास हुने गरेका छन्।

हिमालय सीमापार व्यवसायी संघका अध्यक्ष रामहरि कार्कीले भन्सार कर्मचारीहरूको सरूवा, भन्सार विभागले राखेको गोष्ठी लगायतका कारणले पनि गत साता केही अवरोध देखिदाँ यार्डमा गाडी बढेको बताउनुभयो। उहाँले अहिले सामानको माग पनि बढ्दो क्रममा देखिएकाले नै  चिनियाँ नाकाबाट आयात बढेको बताउनुभयो।

तातो पानी नाकाबाट भने नियमित आयातनिर्यातमा अवरोध देखिएको छ। विशेषगरी सीमापारी (खासा तर्फ) चिनले बाटो बनाउन थालेका कारण निश्चित समयमा मात्रै गाडी ओहोरदोहोर भइरहेको छ।

गत साउन महिनामा यो नाकाबाट चार अर्ब तीन करोडको सामान आयात भएको छ। अघिल्लो वर्ष साउनमा भने एक अर्ब १५ करोड रूपैयाँको मात्रै आयात भएको थियो। रसुवा नाकाबाट चार अर्ब ६४ करोड रूपैयाँको सामान आयात भएको छ। गत आर्थिक वर्षको साउनमा दुई अर्ब ८९ करोडको सामान आयात भएको थियो।
यो नाका २०७१ मंसिरदेखि विधिवत् सञ्चालनमा आएको थियो। चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेको थियो । विशेषगरी कोरानापछि ३८ महिना आंशिक रूपमा मात्रै आयात–निर्यात भएको थियो। २०७९ चैतबाट भने पूर्ण रूपमा सञ्चालन भइरहेको छ। अन्य नाकाहरूबाट आयात घट्दा पनि यी नाकाबाट पछिल्लो दुई वर्षमा भने आयात बढ्दो छ।

स्थल मार्गबाट बढेको व्यापारका साथै रसुवा र तातोपानी नाकामा बढेको चहलपहलले व्यवसायी उत्साहित छन्। स्थल मार्गबाट हुने व्यापारले उल्लेखनीय लागत घट्ने व्यवसायीको भनाइ छ।

पानीजहाज र हवाइ मार्गबाट सामान आयात गर्दा महँगो पर्छ। जसले सामानको लागत पनि बढाउँछ भने पानीजहाजबाट समय पनि धेरै लाग्ने गरेको व्यवसायीको गुनासो छ।

हवाई मार्ग, सामुद्रिक मार्ग तथा स्थल मार्गबाट चीनसँगको वस्तु व्यापार हुने गरेको छ। धेरै सामान भने सामुद्रिक मार्गबाट ल्याइन्छ। समुद्र मार्गबाट हुने ढुवानीमा भारतका दुई बन्दरगाह विशाखापट्टनम र कलकत्ता हुँदै आयात गरिन्छ।

व्यवसायीहरूका अनुसार सबैभन्दा सहज स्थल मार्गबाट ढुवानी गर्दा हुन्छ।

सामुद्रिक मार्गबाट भारत हुँदै ल्याउँदा सामान आयात गर्न कम्तीमा डेढ महिना लाग्ने र भाडादर पनि महँगो पर्ने उनीहरू बताउँछन्। तर स्थल मार्गबाट सामान ल्याउँदा बढीमा १५ दिनभित्र सामान आउँछ भने भाडा दर प्रतिकन्टेनर एक लाख रूपैयाँ सस्तो पर्छ।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button