नेपालले वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने

नेपाल सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले वैशाख ७ गतेलाई याक दिवसका रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो अग्रसरतामा यही भदौ ३० गते मन्त्रालयले तयार पारेको यससम्बन्धी प्रस्ताव स्वीकृत गर्नुभएको थियो। याक तथा चौँरीको संरक्षण संवर्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको कृषिमन्त्री अधिकारीले बताउनुभयो। याक दिवसको घोषणाले याकजन्य वस्तुको गुणस्तर वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिन सक्ने र याक तथा चौँरीको विकास र प्रवर्धनमा सहयोग पुग्ने र यसको संरक्षण, प्रवर्धन र विकासमा सघाउ पुग्ने विश्वास मन्त्रालयले लिएको छ।

जङ्गली याकसँग स्थानीय गाईको क्रस गरी घरपालुवा चौँरीको विकास गरिने भएकाले जङ्गली याकको संरक्षण चौँरी उत्पादनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा–३ फ्याट्टी एसिडको स्रोत रहेको र याकको दही प्रसिद्ध दुग्ध परिकारका रूपमा रहेको, याकको  दुधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको र हिमाली क्षेत्रको सभ्यताका रूपमा समेत याक रहिआएको छ।  याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ।

याक अनुवांशिक स्रोत केन्द्रले २०८० वैशाख ७ गते आफ्नो ५० औँ स्थापना दिवस मनाउने सन्दर्भमा याक तथा चौँरीको संरक्षण र संवर्धनका लागि वैशाख ७ लाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउन उपयुक्त हुने निर्णय गरेको थियो।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button