कृषि पर्यटक बढाउन ‘स्याउ टिप्ने–खाने’ मेला

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका –२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले आयोजना गरेको एक हप्ते स्याउ टिप्ने खाने मेलाको समय एक हप्ता थपिएको छ ।
गएको मङ्गलबारदेखि सुरु भएको सो मेला जारी छ । एक हप्तासम्म सञ्चालन हुने सो मेलामा आगन्तुकको चाप बढेकाले एक हप्ता अझै थपिएको केन्द्रले जनाएको छ । कृषिप्रधान देश नेपालमा पर्यटन र कृषिलाई पनि सँगै जोडेर अघि बढ्दा सकारात्मक प्रभाब पर्न सक्ने सम्भावना रहेको भन्दै केन्द्रले पर्यटन प्रवर्धनका लागि स्याउ टिप्ने खाने मेला सुरु गरेको हो ।
स्याउका लागि नेपालमै चर्चित ब्राण्ड हो मार्फा । त्यही मार्फामा रहेको सरकारी स्वामित्वको शीतोष्ण बागवानी विकास केन्द्रका स्याउ बगैंचामा अहिले लटरम्म फलेका स्याउसँगै रमाउने फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालहरु टिकटक, फेसबुकजस्ता माध्यमबाट प्रचार हुने भएकाले स्याउ मेला आयोजना गरिएको छ ।
स्याउको बगैंचामा थालिएको यो मेलाले आगामी दिनमा अरु क्षेत्र तथा अन्य फलफूल बगैंचामा पनि आयोजना गर्न सकेमा थप प्रचार र प्रभाव देखिने शीतोष्ण वागवानी विकास केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।
CRI