चियाको निर्यातमा उछाल

अन्तर्राष्ट्रिय व्यापारमा केही वर्षयता तीव्र उतारचढाव बेहोरेको नेपाली चिया (सिटिसी) को निर्यातमा उछाल आएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा नेपाली चियाको निर्यात मूल्य र परिणामका हिसाबले करिब ५० प्रतिशतले बढेको गोरखापत्र अनलाइनले लेखेको छ।

भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म नेपालबाट एक अर्ब ७३ करोड रुपियाँको चियाको निर्यात भएको छ। यससँगै नेपालबाट धेरै निर्यात हुने वस्तुको सूचीमा चिया दोस्रो स्थानमा उक्लिएको छ। त्यसअघि आव २०८०/८१ को सोही अवधिसम्म एक अर्ब २० करोड रुपियाँको चिया निर्यात भएको थियो।

यस हिसाबले तीन महिनामै चिया निर्यात ५२ करोड रुपियाँले बढेको तथ्याङ्कले देखाउँछ। त्यसअघि आव २०७९/८० मा एक अर्ब २६ करोड रुपियाँको चिया निर्यात भएको थियो।

खासगरी भारतीय बजारमा नेपाली चियाको माग बढेपछि निर्यात बढेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता डा. दीपक खनालले बताउनुभयो। “भारतीय चियाका बोट पुराना हुँदै जाँदा उत्पादन घटेकाले त्यहाँबाट माग बढेको पाइएको छ,” उहाँले भन्नुभयो। २० औँ वर्ष पुराना त्यस्ता बोटबाट राम्रो चिया नहुने भएकाले भारतीय व्यवसायीले नेपाली चियाको खोजी गरेको उहाँको भनाइ छ। भारत विश्वमा धेरै चिया खपत हुने मध्येमा पर्छ। त्यसमा पनि सिटिसी चियाको खपत त्यहाँ धेरै हुन्छ।

सिटिसी चिया उत्पादनका लागि चर्चित भारतको दार्जिलिङलगायतका क्षेत्रमा नै उत्पादन घटेपछि नेपालतर्फको माग बढेको प्रवक्ता खनालले जानकारी दिनुभयो।

“जलवायु परिवर्तनको असरले पनि दार्जिलिङ जस्ता चिया धेरै उत्पादन हुने क्षेत्रमा नै चिया उत्पादन घटेका खबर आइरहेका छन्,” उहाँले भन्नुभयो। भारतको आन्तरिक बजारलाई नै धेरै चिया चाहिने र विश्व बजारमा समेत दार्जिलिङ चिया भनेर गरिरहेको निर्यातमा समेत असर परेपछि नेपाली चियाको निर्यात बढेको उहाँले बताउनुभयो। माग अनुसार चियाको आपूर्ति कम भएपछि भारतले कुनै किसिमको शुल्क नलगाई नेपाली चिया आयात गरिरहेको छ।

माग व्यवस्थापन गर्न भारतीय व्यवसायीले नेपाली उत्पादकले तोकेकै मूल्यमा चिया लगिरहेको उत्पादकले बताएका छन्। चिया सहकारी सङ्घका केन्द्रीय अध्यक्ष हर्क तामाङले भारतमा सात प्रतिशतले सिटिसी चियाको उत्पादनमा कमी आउँदा नेपाली उत्पादकले राम्रो मूल्यमा चिया बिक्री गरेको बताउनुभयो।

उहाँका अनुसार प्रतिकिलो १८५ भारतीय रुपियाँसम्ममा सिटिसी चिया बिक्री भएको छ। भदौ र असोजमा चियाको निर्यात बढे पनि कात्तिकमा भने नेपाली चियाको गुणस्तर केही कम हुँदा व्यापार केही कम भएको उहाँले बताउनुभयो। यद्यपि आगामी डेढ वर्ष नेपाली चियाले राम्रो मूल्य पाउन सक्ने सम्भावना देख्नु हुन्छ उहाँ।

माग बढ्दा नेपालबाट निर्यात हुने चियाको परिणाम पनि ह्वात्तै बढेको छ। यसअघि भारतीय व्यवसायीले वार्षिक ४५ लाख किलो धुलो चिया नेपालबाट लैजाने गरेकामा अहिले तीन महिनामै ६५ लाख किलोभन्दा बढी चिया लगेको बोर्डले जनाएको छ।

भारत निर्यात सिटिसी चिया झापामा मात्रै उत्पादन हुने गर्छ। झापा मात्रै वार्षिक दुई करोड किलो सिटिसी चिया उत्पादन हुने बोर्डको तथ्याङ्क छ। इलाम, पाँचथर, धनकुटा, तेह्रथुम जस्ता चिया धेरै उत्पादन हुने जिल्लामा उत्पादन हुने चिया अर्थोडक्स चिया हो। अर्थोडक्स चियाको निर्यात भने विगतमा जस्तै सामान्य नै रहेको छ।

Cri

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button