चार महिनामा नेपाललाई साढे चार खर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा नेपालले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा रू पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख बराबरको आयात र ५२ अर्ब ६७ करोड बराबरको निर्यात भएको हो। यसरी कूल पाँच खर्ब ६६ अर्ब पाँच करोड ६७ लाखको वैदेशिक व्यापारमा चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख घाटा देखिएको विभागले जनाएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात शून्य दशमलव १७ र निर्यात चार दशमलव १६ प्रतिशतले बढेको छ। नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख घाटा व्यहोरेको छ। कात्तिक मसान्तसम्ममा भारतबाट तीन खर्ब १६ अर्ब ८८ करोड ५३ लाख बराबरको वस्तु आयात हुँदा ३५ अर्ब ७६ करोड ८७ लाख बराबरको निर्यात भएको छ।

त्यस्तै नेपालको अर्को ठूलो वैदेशिक व्यापार हुने मुलुक चीनसँग रू एक खर्ब तीन अर्ब १८ करोड २५ लाखको आयात र रू ६८ करोड २३ लाख ७७ हजारको निर्यात हुँदा रू एक खर्ब दुई अर्ब ५० करोडको व्यापार घाटा देखिएको छ।

पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ। कात्तिक मसान्तसम्ममा २९ अर्ब चार करोड २० लाख बराबरको डिजेल, २१ अर्ब ५६ करोड २९ लाख बराबरको पेट्रोल र  १८ अर्ब ८५ करोड ९३ लाख बराबरको एलपी ग्यास आयात भएको छ। त्यस्तै १५ अर्ब ९६ करोड ९२ लाख बराबरको फलामजन्य वस्तु, रू १३ अर्ब ४० करोड ४८ लाख बराबरको स्मार्टफोन आयात भएको विभागको तथ्याङ्कबाट देखिन्छ।

बढी निर्यात भएका वस्तुमा भने कार्पेट पहिलो स्थानमा देखिएको छ। चार महिनामा तीन अर्ब ६० करोड आठ लाख बराबरको कार्पेट निर्यात भएको छ। त्यस्तै सोयाबिन तेल तीन अर्ब ४१ करोड, चिया  दुई अर्ब २१ करोड र अलैँची एक अर्ब ९० करोड बराबरको निर्यात भएको छ।

Cri

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button