नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत् नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन्। फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टले पुस ३ गते बुधबार विराटनगरमा आयोजना गरेको “नेपाल–चीन साँस्कृतिक तथा आर्थिक सम्बन्ध” विगतदेखि वर्तमानसम्म विषयक अन्तरक्रियामा बोल्दै राजनीतिज्ञहरुले सो विचार व्यक्त गरेका हुन् ।
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले बीआरआईलाई कुनै पनि वहानामा विवादीत बनाउन नहुने बताउनुभयो । नेपाल र चीनबीचको साँस्कृतिक तथा आर्थिक सम्बन्ध अत्यन्त पुरानो रहेको बताउँदै मन्त्री राईले बीआरआईलाई अनुदान वा ऋण भनेर विवादित बनाउन नहुने बताउनुभयो । साथै मन्त्री राईले मुलुकको विदेश नीति परिपक्व नहुँदासम्म त्यो राजनीतिक दलहरुको सत्तामा पुग्ने भर्याङ मात्र हुने पनि बताउनुभयो ।
कोशी प्रदेशका पूर्व समाजिक विकास मन्त्री तथा नेकपा एमालेका नेता जीवन घिमिरेले बीआरआई परियोजना नेपालको हितमा रहेको बताउँदै बीआरआईले नै नेपाललाई भारतवेष्ठित परनिर्भरताबाट अलग्याउने विश्वास व्यक्त गर्नुभयो । विश्वको समृद्धिसँग जोडिएको बीआरआईलाई नेपालको पूर्वाधार विकास र कनेक्टिभिटीमा जोड्न सक्दा यसले नेपालको समृद्ध बनाउने भएकाले बीआरआई परियोजनामा नेपाल जोडिएकोमा त्यसलाई सबैले स्वागत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन जस्ता क्षेत्रको विकासमा चीनको विकासलाई सदूपयोग गर्नुपर्ने बताउनुभयो । नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै सांसद अधिकारीले प्रधानमन्त्री ओलीको भर्खरै सम्पन्न चीनको औपचारिक भ्रमणका क्रममा भएका बीआरआईसँग सम्बन्धित परियोजनाहरुलाई स्वागत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री गणेश प्रसाद उप्रेतीले चीनको बीआरआई परियोजनाबाट नेपालले महत्वपूर्ण सहयोग प्राप्त गर्न सक्ने भए पनि बीआरआई सम्झौताको व्यवहारिक पक्ष अहिलेको सरकारले पुरा गर्न नसक्ने हो कि भनी चिन्ता व्यक्त गर्नुभयो।
कोशी प्रदेशका प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले नेपाल र चीनबीच प्राचीनकालदेखिनै ऐतिहासिक सम्बन्ध रहेको भन्दै नेपालको पूर्वाधार विकासमा चीनले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । चीन सरकारको सहयोगमा निर्माण भएको कोदारी राजमार्गमार्फत नेपाल र चीनको व्यापारीक सम्बन्ध अझ विकास भएको बताउँदै सांसद पालुङ्वाले नेपालको पर्यटन क्षेत्रको विकासमा चीनले ठूलो सहयोग गर्न सक्ने भएकोले नेपालका पर्यटकीय गन्तब्यका बारेमा चीन सरकारले प्रचार प्रसार मार्फत सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक विदुर लिङ्थेपले प्रधानमन्त्री केपी शर्माओलीले हालै गर्नुभएको चीनको औपचारिक भ्रमणमा भएका दश बुँदे सम्झौताले नेपालको विकास निर्माणमा महत्वपूर्ण परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो ।
चीन अध्ययन केन्द्रका सचिव प्रकाश बाबु पौडेलले नेपाल बीआरआईको सदस्य देश भएको बताउँदै चीनको विकासबाट कसरी फाईदा लिन सक्छौं भन्ने कुरो महत्वपूर्ण भएकोले सबैले यस विषयलाई ध्यान दिनुपर्ने बताउनुभयो । साथै सचिव पौडेलले चिनियाँ रेल नेपाल हुँदै भारतसम्म विस्तार गर्दा त्यसले भारतलाई अझ धेरै फाईदा पुग्ने बताउनुभयो ।
अग्रज पत्रकार यज्ञप्रसाद शर्माले नेपाल र चीनकाबीचमा बीआरआई अन्तरगत भएका सहमतीहरुलाई व्यवहारमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
क्यापिटल मिडिया ग्रुपका अध्यक्ष सुशील राउतले चीनले विश्वलाई नै आश्चर्यमा पार्ने हिसावले विकास निर्माण गरिरहेको भन्दै असल छिमेकी भएको नाताले नेपालले पनि चीनको जस्तै विकास ल्याउन सक्नुपर्नेमा जोड दिनुभयो । साथै राउतले चीन र नेपालका सञ्चारगृहहरुबीचको आदान प्रदानलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो ।
चाईना ग्लोबल टेलिभिजन नेटवर्क सीजीटीएन नेपाली विभागका प्रमुख सुमेघाले नेपाल र चीनबीच जनस्तरमा दिनानुदिन सम्बन्ध विकसित हुँदै गएको बताउँदै नेपालको भौतिक पूर्वाधार क्षेत्रको विकासमा चीनको निरन्तर सहयोग गरिरहेको जानकारी दिनुभयो । चीन र नेपालले विकास निर्माण लगायतका क्षेत्रमा साझेदारी गरिरहेको भन्दै उहाँले बीआरआई मार्फत् नेपालले आगामी दिनहरुमा अझ धेरै फाइदा लिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टका अध्यक्ष रमेश हतुवालीले नेपालले चीनको बीआरआई महापरियोजनाबाट फाईदा लिन के कस्ता अभ्यासहरुलाई निरन्तरता दिनु आवश्यक छ भन्ने लगायतका विषयमा बीचार बुझ्ने उद्धेश्यले अन्तरक्रियाको आयोजना गरेको जानकारी पनि दिनुभयो । नेपाल चीन जनमैत्री परिषद्का पूर्व अध्यक्ष तथा सीआरआई स्रोता क्लवहरुको राष्ट्रिय परिषद् नेपालका पूर्व उपाध्यक्ष लोकेन्द्र काफ्लेले भृकुटी, अरनिको, फा स्यान, बुद्धभद्र लगायतका महामानवहरुले नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा दिनुभयो ।
सीआरआई स्रोता क्लवहरुको राष्ट्रिय परिषद् नेपालका पूर्व केन्द्रीय सदस्य डा. नविन चापागाईले नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त पुरानो रहेको र यो सम्बन्ध समानता र सम्मानमा आधारित रहेको धारणा व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, सीआरआई श्रोता क्लवहरुको राष्ट्रिय परिषद् नेपालका पदाधिकारी तथा सदस्यहरु, शिक्षक, कानून व्यवसायी, विद्यार्थी, समाजसेवी र सञ्चारकर्मी समेत गरि झण्डै १५० जनाको सहभागिता रहको थियो ।