पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको निरन्तर पहल, तर कहिले आउँछ सकारात्मक नतिजा ?

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र चलायमान बनाउन निकै समस्या भएको धारणा राखे।

‘पर्यटनमा ठूलो लगानी छ तर नियमित उडान नहुँदा पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार हुनसकेको छैन, जसले लगानी जोखिममा परेको छ । अन्तर्राष्ट्रियस्तरमै नकारात्मक सन्देश गएको छ’, उनले भने । यस विषयमा क्यानका पदाधिकारी र सम्बन्धित निकायहरूमा निरन्तर ध्यानाकर्षण गराउँदै प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिए ।

पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले विमानस्थलमा नियमित उडानको गर्नु राज्यको दायित्व भएको बताए ।

‘नागरिकको लगानी रहेको यो विमानस्थलमा उडान सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो । यात्रु खोज्ने काममा निजी क्षेत्रले पनि भूमिका खेल्नुपर्छ र यसका लागि नागरिक तहबाट निरन्तर दबाब आवश्यक छ’, उनले भने,’अब विमानस्थलबारे गलत र भ्रमपूर्ण कुरा छर्न कुनै पनि सभ्य नागरिकलाई छुट छैन । सबैको सामूहिक सहकार्य र समन्वयको खाँचो छ ।’

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले नियमित उडानका लागि पहल भइरहेको र छिट्टै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे ।

‘सञ्चालनको दुई वर्षसम्म चार्टर उडानमा सीमित विमानस्थललाई नियमित उडानमा लैजान पर्यटन सम्बद्ध सङ्घसंस्था, सञ्चारमाध्यम र नागरिक समाजले निरन्तर पहल गर्न आवश्यक छ । हामी आफ्नो तर्फबाट यसमा निरन्तर लागिरहेका छौँ । प्राविधिक र पूर्वाधारका चुनौतीहरू हट्दै गएकाले अब नियमित उडान हुने आशा छ’, उनले भने ।

चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यो विमानस्थल नेपाल–चीन सहकार्यको उदाहरण मानिन्छ । करिब  २२ अर्ब लागतमा निर्मित विमानस्थलको निर्माण कार्य चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले गरेको थियो ।

दुई दशमलव पाँच किलोमिटर लामो रनवे भएको यस विमानस्थलमा वाइडबडी जस्ता ठूला क्षमताका जहाजहरूलाई पनि सहज रूपमा अवतरण गर्न सकिन्छ । आधुनिक नेभिगेसन प्रणाली, अत्याधुनिक टर्मिनल भवन र दैनिक २० हजार यात्रुलाई सेवा दिने सक्ने यसका क्षमता रहेको प्राधिकरणले बताउने गरेको छ ।

गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा अवस्थित यस विमानस्थललाई अन्नपूर्ण सर्किट, मुक्तिनाथ र कैलाश मानसरोवरजस्ता विश्वप्रसिद्ध गन्तव्यमा जान सहज हुने अपेक्षा गरिएको छ ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button