खजुरामा खेलकुदको नाममा षड्यन्त्र, भौतिक आक्रमण, आयोजकमाथि प्रश्न

खजुरा, बाँके – मार्च २६, २०२५/ बाँकेको खजुरामा जारी १०औं डाँफे कप नकआउट फुटबल खेल प्रतियोगितामा बुधबार भएको खेलमा विवाद सिर्जनापछि खेलाडीमाथि भाैतिक अाक्रमण भएको छ। स्वर्गीय गज बहादुर सिजालीको स्मृतीमा सञ्चालन गरिएको डाँफे कप फुटबलमा बुधबार न्यू दर्पण युवा स्पोर्ट्स क्लब, खजुरा ४ ई गाउँ र ब्रदर्स एफ सी खजुरा ४ डि गाउँ बीच प्रतिस्पर्धा भएको थियो। खेल शुरुभएको २१ औं मिनेटमा न्यू दर्पणका जर्सी नम्बर २ का हरी बुढामगरले कर्नर हानेका थिए। कर्नर हान्दा फाउल भएको थियो। रेफ्रीले कार्ड निकालेर देखाउन लाग्दा न्यू दर्पणका खेलाडीले रेफ्रीलाई धकेलेर त्यसाे नगर्न भनेपछि रेफ्रीले गाेल भएको सिटी फुकेका थिए। रेफ्रीले एकपक्षीय रुपमा ब्रदर्सका खेलाडीलाई मात्रै दाेषी देखाउने काम गरेका थिए। खेलको पहिलो हाफको अन्त्यमा बिनाकारण ब्रदर्स एफसीका जर्सी नम्बर ४ का सुजन गुरुङलाई पहेंलो कार्ड लगत्तै रातो कार्ड रेफ्री केबी गुरूङले दिएपछि खेल विवादमा आएको थियो। खेलाडीले रेफ्रीलाई धकालेका कारण रातो कार्ड दिएको रेफ्री गुरुङले झुठो बाेलेका छन्। केही बेर खेल विवाद हुँदा रोकिएपछि ब्रदर्सको टीम १० जना खेलाडी लिएर पुन खेलमा फर्किएको थियो।

त्यसको केहीबेरमा नै न्यू दर्पणका खेलाडीले ब्रदर्सका खेलाडीलाई मैदानमा नै भाैतिक अाक्रमण गरेपछि बाहिर दर्शकका रुपमा रहेका न्यू दर्पण समर्थकले पनि मैदानभित्र प्रवेश गरेर अाक्रमण गरेका थिए। आयोजकले आक्रमण रोक्न कुनै पहल नगरेर माइकबाट अपिल मात्र गरेको थियो भने रेफ्री र लाइन्सम्यानहरू मुकदर्शक बनेर बसेका थिए।

खजुरा गाउँपालिकामा न्यू डाँफे स्पोर्ट्स क्लबद्वारा आयोजित यस फुटबल प्रतियोगितामा गम्भीर अनियमितता र षड्यन्त्रपूर्ण व्यवहार भएको आरोप लागेको छ। ब्रदर्स एफसीका खेलाडी र समर्थकहरूले आयोजकले सुरुदेखि नै आफूहरूमाथि पक्षपातपूर्ण व्यवहार गरेको र खेलको क्रममा भौतिक आक्रमणसमेत गरिएको दाबी गरेका छन्।

प्रतियोगिताको अाजकाे खेलमा न्यू दर्पण युवा क्लब र ब्रदर्स एफसीबीचको खेलका क्रममा बारम्बार रेफ्रीले न्यू दर्पण युवा क्लबको पक्षलिँदा विवाद उत्पन्न भएको थियो। ब्रदर्स एफसीका समर्थकहरूका अनुसार, दर्पण युवा क्लबका खेलाडीले कर्नर हान्ने समयमा फाउल गरेपछि रेफ्रीले कार्ड देखाउन खोज्दा दर्पणका खेलाडीले रेफ्रीलाई धकेलेर कार्ड रोकेका थिए। तर, रेफ्रीले कार्ड नदेखाई गोल भएको संकेत गरेपछि ब्रदर्स एफसीका खेलाडीले विरोध जनाएका थिए। उक्त विरोधको आयोजकले कुनै वास्ता नगरेको र बाध्य भएर खेल्न तयार भएका ब्रदर्सका खेलाडीमाथि भौतिक आक्रमण भएको आरोप छ।

आरोपअनुसार, बाहिर दर्शकका रूपमा रहेका व्यक्तिहरूले समेत मैदानभित्र प्रवेश गरी खेलाडीमाथि आक्रमण गरेका थिए। आयोजकले आक्रमण रोक्न कुनै पहल नगरेको र माइकबाट अपिल मात्र गरेको, तर रेफ्री र लाइन्सम्यानहरू मुकदर्शक बनेर बसेको घटनास्थलका प्रत्यक्षदर्शीहरूको भनाइ छ। “यो पूर्वनियोजित योजना थियो। आयोजकले ब्रदर्स एफसीलाई हराउन र खेलको नाममा बदला लिन खोजेको स्पष्ट छ,” एक समर्थकले भने।

यो प्रतियोगिताको आयोजनाले कानुनी वैधानिकतामाथि पनि प्रश्न उठाएको छ। स्थानीय सरकार, जिल्ला प्रशासन वा कुनै खेलकुद निकायबाट स्वीकृति लिएर प्रतियोगिता आयोजना गरिएको हो वा होइन भन्ने स्पष्ट छैन। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार खेलकुद गतिविधि सञ्चालन गर्नुपूर्व सम्बन्धित निकायमा सूचना दिई स्वीकृति लिनुपर्ने प्रावधान छ। यदि आयोजकले टिकट, प्रायोजन वा अन्य माध्यमबाट आर्थिक संकलन गरेको हो भने त्यसको पारदर्शिता र वैधानिकता खुलाउनुपर्ने माग समर्थकहरूले गरेका छन्। “खेलको नाममा पैसा उठाएर खाने र भ्रष्टाचार गर्ने काम भइरहेको छ। खजुरा गाउँपालिका र वडाले बारम्बार एउटै क्लबलाई सहयोग गरेर मिलेमतो गरिरहेका छन्,” एक स्थानीयले आरोप लगाए।

ब्रदर्स एफसीका समर्थकहरूले यो घटनालाई खेलकुदको भावनाविपरीत र आपराधिक कार्यको संज्ञा दिँदै दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन्। साथै, खेल व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्नुपर्ने र आयोजकका नाममा सीमित व्यक्तिले गरेको गलत कार्य रोक्नुपर्ने उनीहरूको भनाइ छ। “खजुरालाई बदनाम गर्ने यस्ता काम बन्द हुनुपर्छ,” समर्थकहरूले भने।

स्थानीय प्रशासन र खजुरा गाउँपालिकाले यो विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही हुने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button