शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको चहलपहल
प्राकृतिक सुन्दरता, जैविक विविधता र शान्त वातावरणको आकर्षण

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। हिउँद यामको अन्त्यसँगै सुरु हुने पर्यटन सिजनसँगै स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको हो। फागुनदेखि जेठ महिनासम्म शुक्लाफाँटा घुमघामका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ, किनभने यो समयमा मौसम अनुकूल हुन्छ र वन्यजन्तुहरू सजिलै अवलोकन गर्न सकिन्छ।
निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, “अहिले पर्यटक आउने क्रम बढ्दो छ। विशेषगरी विद्युतीय सवारी साधन, सामाजिक सञ्जालमा प्रचारप्रसार, सडक पूर्वाधारको सुधार तथा होटल तथा होमस्टे सेवामा भएको विस्तारले पर्यटक आकर्षणमा टेवा पुर्याएको छ।”
शुक्लाफाँटा दुर्लभ वन्यजन्तुहरूको संरक्षणस्थलको रूपमा चिनिन्छ। यहाँ पाइने पाटेबाघ, एकसिङे गैँडा, दलदल मृग (बारासिङ्गे), चित्तल, कृष्णसार, जरायो लगायतका थुप्रै स्तनधारी तथा चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ। विशेषगरी हिरापुर घाँसे मैदानमा देखिने कृष्णसारको बथानले धेरै पर्यटकलाई लोभ्याउने गरेको छ। शुक्लाफाँटा जैविक विविधताको दृष्टिले पनि धनी छ। हालसम्म निकुञ्जभित्र ४६ प्रजातिका स्तनधारी, ४२ प्रजातिका सरीसृप, ३२ प्रजातिका माछा र ४५० भन्दा बढी प्रजातिका चराहरू पाइएका छन्। यही कारणले गर्दा यो स्थान ‘बर्डवाचिङ’ प्रेमीहरूका लागि पनि उपयुक्त गन्तव्यका रूपमा परिचित हुँदै आएको छ।
निकुञ्ज कार्यालयका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्ममा मात्र १,४७९ जना पर्यटकले शुक्लाफाँटाको अवलोकन गरिसकेका छन्। जसमध्ये १,३५२ जना नेपाली, ४६ जना सार्क मुलुकका र ८१ जना अन्य विदेशी मुलुकका रहेका छन्।
गत वर्ष २०८०/८१ मा जम्मा ४,००५ पर्यटकले भ्रमण गरेका थिए, जसमध्ये ३,७६२ आन्तरिक, १३२ सार्क र १११ अन्य विदेशी थिए। त्यसअघि २०७९/८० मा ३,०६७, र २०७८/७९ मा २,७२९ जना पर्यटकले शुक्लाफाँटा भ्रमण गरेका थिए। यी आँकडाले हरेक वर्ष पर्यटकको चासो र आकर्षण क्रमशः बढ्दो रहेको स्पष्ट देखिन्छ।
गोरखापत्र अनलाइनले प्रकाशित गरेको विवरणअनुसार, शुक्लाफाँटा भ्रमणमा आउने पर्यटकहरूमध्ये ९० देखि ९५ प्रतिशतसम्म आन्तरिक पर्यटक हुने गरेका छन्। विद्यालय तथा कलेजका शैक्षिक भ्रमण, पारिवारिक घुमघाम र साहसिक पर्यटनप्रेमीहरूको रुचि शुक्लाफाँटा केन्द्रित हुँदै गएको छ।
सरकारको तर्फबाट संरक्षण, पूर्वाधार निर्माण तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई अझै प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न सकिने विज्ञहरूको भनाइ छ।