अमेरिकाले चीनमाथिको निर्भरता हटाउन सक्दैन

# प्रेम सागर पाैडेल

डोनाल्ड ट्रम्पलगायतका अमेरिकी नेताहरूले आत्मनिर्भरता र ‘मेड इन अमेरिका’ अभियानका ठूलो–ठूलो कुरा गरे पनि वस्तुस्थितिले उनीहरूको भाषणभन्दा फरक यथार्थ उजागर गर्छ। विशेषतः दुर्लभ खनिज (rare earth elements) को प्रशोधन र प्रविधिमा चीनप्रतिको निर्भरता यति गहिरो भइसकेको छ कि त्यो तत्कालीन रणनीतिको भरमा अन्त्य गर्न सम्भव छैन।

विश्वमा तीव्र रूपमा बढिरहेको हरित ऊर्जा र उच्च प्रविधि क्षेत्रका लागि अत्यावश्यक तत्वहरू, जस्तै– लिथियम, कोबाल्ट, नियोडिमियम, प्रसेओडिमियम आदि दुर्लभ खनिजहरूको प्रशोधन आवश्यक पर्छ। अमेरिका आफैँसँग यी खनिजहरूको खानी भए तापि ती प्रशोधन गर्न उसले आवश्यक पूर्वाधार निर्माण गर्न चाहँदैन। सौर्य प्यानल, इलेक्ट्रिक गाडी, हाई–टेक मिसाइल प्रणाली जस्ता प्रविधिका लागि पनि यी खनिजहरू अपरिहार्य छन्। तर अमेरिका आफैं यिनको प्रशोधन गर्ने जोखिम लिन चाहँदैन।

चीनले दशकौँ अगाडि नै दुर्लभ खनिज प्रशोधनमा आफ्नो लगानी बढाएर आजको स्थितिमा आएको हो। विश्वका करिब ८५% दुर्लभ खनिज अक्साइड प्रशोधन चीनमा नै हुने गर्छ। यो केवल उत्पादन मात्र नभई रणनीतिक नीति पनि हो। चीनले १९८० को दशकदेखि नै रणनीतिक रूपमा टेक्नोलोजी आपूर्ति श्रृंखलामा आफ्नो नियन्त्रण बलियो बनाउँदै ल्यायो। सन २०१० मा चीनले जापानसँगको कूटनीतिक विवादको समयमा दुर्लभ खनिजको निर्यात घटाएर यसको भू-राजनीतिक प्रयोगको स्पष्ट उदाहरण पनि दिएको थियो।

अमेरिकामा दुर्लभ खनिज प्रशोधन गर्नको लागि ठूलो मात्रामा पानी, ऊर्जा र रसायनको प्रयोग हुन्छ। यसले विषादीयुक्त फोहोर उत्पादन गर्छ, जुन अमेरिका भित्रको वातावरणीय कानुनले अत्यन्तै कडा रूपमा नियमन गर्छ। यस्तो स्थितिमा अमेरिकी कम्पनीहरूले यी फ्याक्ट्रीहरू खोल्न चाहँदैनन्। चीनले भने यो ‘वातावरणीय मूल्य’ चुकाएर विश्वको दुर्लभ खनिज प्रशोधन केन्द्र बन्ने निर्णय लिएको छ। अहिले चीनमा विशाल औद्योगिक क्लस्टरहरू छन्, जहाँ यस्ता प्रशोधन फ्याक्ट्रीहरू आपसमा सञ्जालमा छन्।

चीनको अर्को ठूलो फाइदा सस्तो, तर दक्ष श्रमिक बल हो। दुर्लभ खनिज प्रशोधन प्रविधिमा दक्ष इञ्जिनीयर, प्राविधिक र प्रबन्धकहरू चीनमा तुलनात्मक रूपमा सजिलै उपलब्ध छन्। त्यस्तै, सरकारी नीति, सब्सिडी र लगानीमैत्री वातावरणले पनि यी उद्योगहरूलाई विकास गर्न ठूलो सहयोग पुर्‍याएको छ।

विश्वका अधिकांश स्मार्टफोन, विद्युतीय गाडी, चिप निर्माण संयन्त्र, तथा हाई–टेक सैन्य उपकरणहरूमा दुर्लभ खनिजको प्रयोग हुन्छ। यी सबैमा चीनको आपूर्तिमाथि निर्भरता गहिरो छ। त्यसैले, अमेरिकी नेताहरूले चाहे जतिसुकै ठूलो कुरा गरून्, चीनबिना अमेरिका न त आफ्नो टेक्नोलोजी उन्नत राख्न सक्छ, न त हरित ऊर्जा अभियानलाई सफल बनाउन। रणनीतिक रूपमा अमेरिका र चीनको आपूर्ति श्रृंखला एक–अर्कामा गहिरो रूपमा गाँसिएको छ।

चीनले दशकौँअगाडिदेखि वैज्ञानिक सोच, दीर्घकालीन रणनीति र नीतिगत दृढतामार्फत दुर्लभ खनिज प्रशोधन क्षेत्रमा वैश्विक प्रभुत्व कायम गरेको छ। अमेरिका आफैंले आफ्ना वातावरणीय नीति र आर्थिक हितको सन्तुलन मिलाउन नसक्दा, चीनप्रतिको निर्भरता हटाउनु उसका लागि केवल राजनीतिक भाषणमै सिमित विषय बन्न पुगेको छ। यस सन्दर्भमा चीनको भू-आर्थिक रणनीति सम्पूर्ण विकासशील राष्ट्रहरूको लागि समेत अनुकरणीय उदाहरण बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button