गायिका तृप्ति खड्कालाई नेशनल क्यापिटल अवार्डमा सर्वोत्कृष्ट गायिकाको सम्मान

काठमाडौं — लोकप्रिय गायिका तृप्ति खड्का गुरुङ्गले यस वर्षको नवौं नेशनल क्यापिटल अवार्ड अन्तर्गत सर्वोत्कृष्ट गायिकाको अवार्ड जित्न सफल भएकी छन्। राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा उनले गाएको ‘तिम्रो झझल्को’ गीतबाट यो प्रतिष्ठित अवार्ड हात पार्न सफल भएकी हुन्।

पुरुष गायन विधामा भने हिमाल सागरले सर्वोत्कृष्ट गायकको अवार्ड प्राप्त गरे। हरि उफ्रेती अफिसियल युट्युब च्यानलमार्फत २०८१ सालमा सार्वजनिक गरिएको ‘तिम्रो झझल्को’ गीतको भिडियो हालसम्म ११ लाख भन्दा बढी पटक हेरिएको छ।

अवार्ड समारोहमा विशिष्ट अतिथिहरू पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डे, पूर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ, र चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष `शिवहरि नेपाल ‘वैरागी’`ले तृप्तिलाई अवार्ड प्रदान गरेका थिए।

डेढ दशकभन्दा लामो सांगीतिक यात्रामा गायिका तृप्तिका ५०० भन्दा बढी गीतहरू सार्वजनिक भइसकेका छन्। लोकपप गीत ‘बैशले मातिए’ मार्फत चर्चा कमाउँदै स्टेजमा जम्न थालेकी उनले एक हजारभन्दा बढी स्टेज शोहरूमा प्रस्तुति दिइसकेकी छन्। गायनसँगै संगीत संयोजनमा समेत सक्रिय तृप्तिले देश-विदेशमा दर्शक श्रोताको मन जित्दै आएकी छन्।

सारेगम स्टुडियोकी सञ्चालक समेत रहेकी तृप्तिका धेरै गीतहरू श्रोतामाझ लोकप्रिय छन्। उनले हिजोमात्रै नयाँ गीत ‘तिम्रो धड्कन’ आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छन्।

उनको जादुमय स्वर र मिहिनेतले नेपाली संगीत क्षेत्रमा निरन्तर उज्यालो थपिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button