बाँके प्रमुख जिल्ला अधिकारीलाई नेपाल पत्रकार महासंघको चेतावनी !

कोहलपुर, बाँके — कोहलपुरबाट प्रकाशित हुने दुई राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार शुभाकर विश्वकर्मामाथि बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्र जोशीले गरेको व्यवहारप्रति नेपाल पत्रकार महासंघ, जिल्ला शाखा बाँकेले गम्भीर ध्यानाकर्षण जनाएको छ।

पत्रकार विश्वकर्माले स्थानीय नागरिकको गुनासोका आधारमा प्रमुख जिल्ला अधिकारीलाई सोधपुछ गर्दा प्रजिअ जोशीले कडा शब्द प्रयोग गर्दै अपमानजनक व्यवहार प्रदर्शन गरेको आरोप लगाइएको छ। साथै पत्रकार विश्वकर्मा र अर्का पत्रकार तेजराज गजुरेललाई अभद्र व्यवहार गर्दै अपमानित गरिएको घटनाले प्रेस स्वतन्त्रतामाथि ठुलो प्रहार पुगेको महासंघको ठहर छ।

प्राप्त विवरण अनुसार, पत्रकारले प्रश्न गर्ने अधिकार प्रयोग गर्दा प्रमुख जिल्ला अधिकारीले ‘दलाल पत्रकार’ जस्ता शब्द प्रयोग गर्दै प्रेसकर्मीलाई होच्याउने कार्य गरेका थिए। यसप्रति महासंघले आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको मर्यादा कायम राख्न प्रशासनलाई आग्रह गरेको छ।

नेपाल पत्रकार महासंघ बाँकेले घटनाको भर्त्सना गर्दै प्रशासनसँग औपचारिक स्पष्टिकरणको मागसमेत गरेको छ। महासंघका सचिव कृष्ण ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सच्चा, निष्पक्ष र मर्यादित पत्रकारितालाई अपमान गरिएको छ। यस्तो व्यवहारले पत्रकारहरूमा निराशा र असुरक्षा उत्पन्न गराएको छ।”

महासंघले पत्रकारको व्यक्तिगत सुरक्षाको माग गर्दै घटनामा संलग्न प्रजिअलाई प्रेस स्वतन्त्रता र जनताको जानकारी प्राप्त गर्ने अधिकारबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको छ। चेतावनीस्वरूप विज्ञप्तिमा भनिएको छ, “यदि यस्ता घटनाको पुनरावृत्ति भयो भने बाँके शाखा थप कडा कदम चाल्न बाध्य हुनेछ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button