दक्षिण एशियामा सीमापार आतंकवाद: भारतीय भूमिका र नेपालको ऐतिहासिक सन्दर्भ

#लक्की चन्द
दक्षिण एशियामा सन्तुलन र शान्तिको खोजीमा जबजब नेपालले स्वतन्त्र परराष्ट्र नीति अपनाउने प्रयास गर्यो, तबतब त्यहाँ सीमापार हस्तक्षेप, षड्यन्त्र र हिंसात्मक गतिविधिहरू सक्रिय बनाइएका छन्। यी घटनाहरू केवल अतीतका सम्झना मात्र होइनन्, आजको समयका राजनीतिक र कूटनीतिक चेतनाको लागि पनि महत्वपूर्ण उदाहरण हुन्।
२०१८ सालमा काङ्ग्रेस नेता सुबर्ण शमशेरको संरक्षणमा दुर्गानन्द झा मार्फत राजा महेन्द्रमाथि बम प्रहार गरिनु राजनीतिक लक्षप्राप्तिका लागि सिमापार आतङ्क प्रयोग गरिएको प्रारम्भिक उदाहरण हो। त्यसपछि २०३० सालमा गिरिजाप्रसाद कोइरालाको संलग्नतामा भएको नेपाल एयरलाइन्स अपहरणले सीमा पारबाट नियोजित राजनीतिक अस्थिरता सृजना गर्ने प्रयास देखायो।
२०३२ मा बिपी कोइरालालाई भारतले सुरक्षा प्रदान गर्नु र त्यसपछिका गतिविधिहरूले नेपाली राजतन्त्र विरुद्ध आन्तरिक तनाव चुल्याउन सहयोग पुऱ्यायो। २०४२ सालमा रामराजा प्रसाद सिंहमार्फत गरिएको बम आक्रमण नेपाली जनतालाई निशाना बनाउने सीमापार रणनीतिक प्रयासको एक उदाहरण हो।
२०५२ सालपछि माओवादी विद्रोहलाई सशस्त्र समर्थन, भारतको भूमिबाट रणनीति, शरण र रसद प्राप्त हुनुले सीमापार आतङ्कको चरित्रलाई स्पष्ट देखाउँछ। मधेस आन्दोलनको नाममा नेपालगञ्ज, बर्दिया, सिराहा जस्ता क्षेत्रमा आरएसएस जस्ता संगठित शक्तिहरूको संलग्नता, धार्मिक तनाव सृजना, र सामाजिक एकता कमजोर बनाउने गतिविधिहरू भारतीय नीति अन्तर्गतका छायायुद्धको अंश हुन्।
भारतले चेन्नाईमा भेलुपिल्लै प्रभाकरणलाई संरक्षण दिँदै श्रीलङ्काको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको तथ्य रेकर्डमै छ। भुटानी शरणार्थी नेपाल छिर्यो, तर उनीहरूको स्वदेश फिर्ती प्रक्रियामा अवरोध सिर्जना गर्नु सुसूचित रणनीतिक सीमापार दबाबको भाग थियो।
२०५८ सालको दरबार हत्याकाण्डको सन्दर्भमा यद्यपि प्रमाणहरू अस्पष्ट छन्, तर भारतीय गुप्तचर संस्था रअ र अमेरिकी सीआईएको संलग्नता सम्बन्धी जनआस्थाहरू जनस्तरमा गहिरो रूपमा गडेका छन्। बनारसमा बिपी र पुष्पलाल, गोरखपुरमा मोहनविक्रम सिंह, दिल्लीमा प्रचण्ड र बाबुरामलाई राखेर नेपालभित्र सशस्त्र राजनीति भित्र्याउने प्रयासहरू पनि यही श्रृंखलाका अंग हुन्।
दक्षिण एशियामा भारतको शक्ति विस्तार नीति अन्तर्गत छिमेकी मुलुकलाई अस्थिर पार्दै नियन्त्रणमा राख्ने रणनीति दशकौंदेखि क्रियाशील देखिन्छ। नेपाल, भुटान, श्रीलङ्का लगायतका मुलुकमा सीमापार आतंक, शरणार्थी मुद्दा, राजनीतिक हस्तक्षेप र आन्तरिक विद्वेषलाई सहजीकरण गर्दै आएको इतिहासले यो पुष्टि गर्छ।
आजको आवश्यकता केवल भूतलाई सम्झनु होइन, त्यस्ता हस्तक्षेपबाट सुरक्षा गर्ने रणनीति तयार गर्नु हो। घर वरिपरि आगो लगाएर कोठा सुरक्षित हुँदैन भन्ने जनबोध राख्दै, नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता र भूराजनीतिक सन्तुलनलाई प्राथमिकतामा राखेर ठोस कार्यनीति अवलम्बन गर्नु अबको मुख्य चुनौती हो।