पहिलो पटक भित्रियो मकै रोप्ने मेसिन

धादिङ जिल्लामा पहिलो पटक मकै रोप्ने मेसिन भित्रिएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित सल्यानटारमा मकै रोप्ने मेसिन भित्रिएको हो ।
कृषि विकास कार्यालय धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका र साना किसान कृषि सहकारी संस्थाको संयुक्त अनुदानमा यो मेसिन ल्याइएको हो । कृषि विकास कार्यालय धादिङका प्रमुख गोविन्दप्रसाद पोखरेलले गाउँपालिका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, सहकारी अध्यक्ष फनिकान्त छत्कुलीलगायतलाई सामूहिक रूपमा मेसिन हस्तान्तरण गर्नुभएको हो ।
पोखरेलका अनुसार ट्याक्टरमा जडित मेसिनले प्रतिघण्टा १५ देखि १८ रोपनी जमिनमा मकै रोप्न सक्छ । यस मेसिनबाट मकैसँगै मल हाल्न र गोड्ने कामसमेत गर्न सकिने सुविधा छ । विशेष गरी ठुला र समथर जमिनमा उपयुक्त हुने मेसिनले खेतीमा लाग्ने जनशक्ति घटाउन सहयोग पुग्ने गोरखापत्र अनलाइनले जनाएको छ।
गाउँपालिका अध्यक्ष राजु उप्रेतीले कार्यक्रम सफल भयो भने आगामी वर्ष थप मेसिन खरिदको कार्यक्रम ल्याउने योजना रहेको बताउनुभयो । कृषि प्राविधिकले मकै रोप्दा करिब २० जनासम्मको श्रम घटाउने यस मेसिनले खेतीलाई आधुनिक बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाको सहयोगमा यसअघि पनि साना किसान सहकारीले धान रोप्ने, काट्ने, आलु रोप्ने, खन्ने र औषधी छर्ने मेसिन ल्याइसकेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । उपकरणको प्रयोगले खेतीलाई व्यावसायिक बनाउन मद्दत पुग्ने उपाध्यक्ष देवराज धरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिपुरासुन्दरीलाई कृषि क्षेत्रमा देशकै नमुना गाउँपालिका बनाउन निरन्तर प्रयास जारी रहने छ ।” सहकारी संस्थाले हाल व्यावसायिक खेतीसँगै किसानलाई आवश्यक पर्ने कृषि उपकरण, मकै बिउ, मल र विषादीसमेत अनुदानमा वितरण गर्दै आएको छ ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button