ट्यारीफ सुनामी: कसरी अमेरिकी संरक्षणवादले विश्वव्यापी आर्थिक आँधीको सुरुआत गर्‍यो

# फेङ लिउ, सिउलिङजिया रुई र यौयुआन झाङ द्वारा

स्थानीय समय अनुसार अप्रिल २ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (यहाँपछि ट्रम्प) ले आयातमा १०% आधारभूत शुल्क लगाउने घोषणा गरे, जुन अप्रिल ५ देखि लागू हुने भनियो। साथै, व्यापार घाटा धेरै भएका देशहरू क्याम्बोडिया, लाओस, भियतनाम, चीन र दक्षिण अफ्रिकामा अतिरिक्त शुल्कहरू लागू गर्ने घोषणा गरे, जुन अप्रिल ९ देखि १०% देखि ४९% सम्मका दरमा हुने बताए। अप्रिल ९ मा ट्रम्पले ७५ वटा देशहरूमा “प्रतिशोधी” कार्यहरू नगरेका कारण ९० दिनसम्म परस्पर शुल्क निलम्बन गर्ने र कर दर १०% मा घटाउने घोषणा गरे। तर चीनमाथि लगाइने शुल्क दर १४५% मा वृद्धि गरिने भयो। अमेरिकी नेतृत्वमा सुरु भएको शुल्क युद्धले विश्वव्यापी अर्थतन्त्रमा कसरी “बटरफ्लाइ प्रभाव” ल्यायो? यस संघर्षमा को विजयी हुनेछ? अब के हुनेछ? यी प्रश्नहरू अहिले विश्वभरिकाे ध्यानमा केन्द्रित भएका छन्।

व्यापार संरक्षणवाद: विश्व आपूर्ति शृङ्खलामा डोमिनो प्रभाव

पहिलो डोमिनो भनेको संयुक्त राज्य अमेरिकाले लगातार शुल्कहरू बढाउँदा विश्व व्यापार प्रणालीमा व्यापक अस्थिरता आएको हो। सन २०२५ जनवरी २० मा ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि “अमेरिका फर्स्ट व्यापार नीति” घोषणा गरे। त्यसपछि फेब्रुअरी ४ मा चीनमाथि अतिरिक्त १०% शुल्क, मार्च ४ मा पुनः अर्को १०% शुल्क र मेक्सिको तथा क्यानडामा २५% शुल्क लगाए। अप्रिल १६ सम्ममा चीनमाथि लगाइएको शुल्क २४५% पुगेको थियो। सहयोगभन्दा संरक्षणमा जोड दिने अमेरिकाको यस नीतिले विश्व अर्थतन्त्रको सञ्चालन लागत बढाएको र आर्थिक राष्ट्रियताको लहर थप बलियो बनाएको छ। अझ गम्भीर कुरा, WTO सचिवालयले अप्रिल १६ मा सार्वजनिक गरेको “विश्व व्यापार दृष्टिकोण र तथ्याङ्क” प्रतिवेदन अनुसार, सन २०२५ मा विश्व व्यापारको परिमाण ०.२% ले घट्ने अनुमान छ, र स्थिति बिग्रिएमा १.५% ले घट्न सक्छ।

दोस्रो डोमिनो भनेको वैश्विक आपूर्ति शृङ्खलामा अवरोध र स्थानान्तरणका कारण आर्थिक मन्दीको जोखिम हो। अमेरिकाले कारमाथि २५% शुल्क लगाएपछि, जगुआर ल्यान्ड रोभर, अडी लगायतका कार कम्पनीहरूले अमेरिका तर्फको निर्यात स्थगित गरेका छन्। साथै, शुल्क युद्धको प्रभाव पूँजी बजारमा पनि देखिएको छ। स्ट्यान्डर्ड एन्ड पुअर्स ५०० सूचकाङ्क विगत एक वर्षमै पहिलो पटक ५००० अंकभन्दा तल झरेको छ र बजार मूल्यमा ट्रिलियन डलर बराबरको क्षति पुगेको छ। एडिनबर्ग विश्वविद्यालयका वित्त विभाग प्रमुख प्रोफेसर गबेङा इबिकुनले भन्छन्, “यदि नीतिगत अनिश्चितता चाँडै हटेन भने, निकट भविष्यमा विश्व आर्थिक वृद्धिदर सुस्त वा घट्न सक्छ।”

तेस्रो डोमिनो चीनले “प्रत्युत्तरात्मक मुक्का” प्रहार गर्‍यो भने भियतनाम, भारत लगायतका देशहरूले “पर्खने र सम्झौता गर्ने” रणनीति अपनाए, जसले शुल्क युद्धलाई थप बढायो। अप्रिल १८ सम्ममा, एकातर्फ चीनले अमेरिकासँग व्यापारमा १४५% शुल्क कायम गर्यो र अमेरिकी शुल्क खेललाई बेवास्ता गर्ने घोषणा गर्‍यो। अर्कोतर्फ, चीनले दुर्लभ खनिज निर्यात नियन्त्रण र एन्टी-डम्पिङ अनुसन्धान सुरु गर्‍यो, साथै WTO मा उजुरी दर्ता गर्‍यो, अमेरिकाले बहुपक्षीय व्यापार नियम उल्लंघन गरेको आरोप लगाउँदैछ। अमेरिकी एकपक्षीय दबाबसँग जुध्न चीनले दीर्घकालीन आर्थिक विकास सुनिश्चित गर्दै विश्व व्यापार प्रणाली जोगाउन मार्ग खोज्न आवश्यक भएको छ।

बहुपक्षीय खेल: को डुबिरहेको छ? को सजिलै जितिरहेको छ?

शुल्क युद्धको असरले “डुब्ने” समूह उत्पादन गरेको छ, खासगरी निर्यातमा निर्भर उद्योगहरू। फलस्वरूप फलाम र स्टिल उद्योग, सवारी साधन उत्पादन, निर्माण क्षेत्र लगायतका उद्योगहरू गम्भीर संकटमा परेका छन्। इनपुट लागतको वृद्धिले अमेरिकी उत्पादनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा क्षमतामा गम्भीर क्षति पुगेको छ। साथै, चीनले अमेरिकी कृषिजन्य उत्पादन र प्रविधि क्षेत्रमा प्रतिशोधी शुल्क लगाउँदा यी क्षेत्रमा थप समस्याहरू देखिएका छन्। उदाहरणस्वरूप, अमेरिकी सोयाबिन, सुँगुर मासु र दुग्धजन्य उत्पादनको निर्यातमा ठूलो क्षति पुगेको छ, र प्रविधि क्षेत्रमा सेमीकन्डक्टर र इंटीग्रेटेड सर्किट जस्ता प्रमुख सामग्रीहरूको आपूर्ति शृङ्खला अस्थिर बन्न पुगेको छ, जसले खरिद लागत बढ्ने जोखिम निम्त्याएको छ।

तर यो संघर्षमा केही “अनपेक्षित विजेता” पनि देखिएका छन्। चीन र अमेरिकाबीच उच्च शुल्क लगाइरहँदा भारत, भियतनाम, थाइल्याण्ड लगायतका दक्षिणपूर्वी एशियाली देशहरूले चीनबाट सरेका उत्पादन अर्डरहरू ग्रहण गर्दै बजार विस्तार गरेका छन्। भारतीय उद्योग र वाणिज्य मन्त्री पियुष गोयलले भने, “यो भारतका लागि जीवनमा एकपटक आउने अवसर हो।” फक्सकन एप्पलको मुख्य आपूर्ति साझेदारले भारतमा आइफोन उत्पादन सुरु गरिसकेको छ, र हाल भारतमा विश्वव्यापी आइफोन उत्पादनको लगभग २०% जिम्मा लिएको छ। अमेरिकी नीतिगत कडाइका बीच एप्पलले उच्च शुल्क टार्न आपूर्ति शृङ्खला विविधीकरण रणनीति तीव्र बनाउँदै भारततर्फ उत्पादन सरेको छ।

यद्यपि, शुल्क युद्धमा साँच्चिकै विजेता कोही पनि छैन। चीनबाट संयुक्त राज्य अमेरिका निर्यात हुने सस्तो सामानहरू अब दक्षिणपूर्वी एशियामा बाढी आउन थालेका छन्, जसले स्थानीय उद्योगमा संकट सिर्जना गरेको छ। साथै, अमेरिकी सरकारले ती देशहरूमा पनि उच्च शुल्क लगाउने योजना बनाइरहेको छ। भियतनामी व्यापारी हाओ ले भन्छन्, “यदि ट्रम्प प्रशासनले भियतनामी सामानमाथि ४६% शुल्क लगायो भने (यो योजना जुलाईसम्म स्थगित गरिएको छ), हाम्रो मोबाइल र कम्प्युटर सामानको अमेरिकी निर्यातबाट हरेक महिनाको २० लाख डलर आम्दानी पूर्णतः समाप्त हुनेछ।”

भविष्यको बाटो: आँधीमा सन्तुलन कसरी खोज्ने?

ऐतिहासिक दृष्टान्तहरूले देखाउँछन् कि व्यापार संरक्षणवाद अन्ततः आफैँलाई क्षति पुर्याउँछ। सन १९३० को स्मुट-हाउले ट्यारिफ ऐनले अमेरिकी र विश्व व्यापार दुई-तिहाइले संकुचित गरेको थियो र ठूलो महामन्दी गम्भीर बनेको थियो। आजको शुल्क युद्ध अझ बढी विनाशकारी देखिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) की प्रबन्ध निर्देशक क्रिस्टालिना जॉर्जिएवाले चेतावनी दिँदै भनिन्, “नीतिगत अनिश्चितता आफैँ शुल्कभन्दा बढी विनाशकारी हुन्छ।” र सबै देशलाई “सचेत हुन” आह्वान गरिन्। लिभरपुलस्थित जोन मुरेस विश्वविद्यालयका अर्थशास्त्रका व्याख्याता स्टिभ नोलनले भने, “अर्थशास्त्रीहरू धेरै कुरामा असहमत छन्, तर स्वतन्त्र व्यापारका फाइदामा लगभग सर्वसम्मति छ। ट्रम्पको व्यवहारले दशकौँदेखिका विश्व आर्थिक सञ्चालन नियमहरू ध्वस्त पारिरहेको छ।”

संयुक्त राज्य अमेरिकाले बनाएको शुल्कको “उच्च पर्खाल” अटुट जस्तो देखिए पनि, वास्तवमा यो अमेरिकी हेगेमोनी चिन्ताको संकेत हो। शुल्क युद्धमा वास्तविक विजेता कोही हुँदैन। केवल खुलापन र सहकार्यको मार्गलाई आत्मसात गरे मात्र विश्व आर्थिक विकासमा निरन्तर ऊर्जा भर्न सकिन्छ र समृद्धिको अर्को छेउसम्म पुग्न सकिन्छ। भोलिका दिनमा, वैश्वीकरणको पुनर्संरचनाको लहरमा जसले शून्य-राशिको सोच छोडेर अघि बढ्छ, उसले नै नयाँ आर्थिक स्वरूपमा बलियो आधार जमाउन सफल हुनेछ।

(लेखकहरू: फेङ लिउ, सिउलिङजिया रुई र यौयुआन झाङ, चीनको साउथवेस्ट युनिभर्सिटी अफ पोलिटिकल साइन्स एन्ड ल को विद्वानहरू हुनुहुन्छ।)

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button