नेपालबाट हुने चिया निर्यातमा सुधार, साठी हजारलाई रोजगारी

नेपालबाट समग्र वस्तुको निर्यात बढिरहेका बेला चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा साढे तीन अर्ब रुपियाँ बराबरको चिया निर्यात भएको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म तीन अर्ब ५७ करोड ३१ लाख रुपियाँ बराबरको एक लाख ६४ हजार ८५२ केजी चिया निर्यात भएको छ। गत वर्ष सो अवधिमा दुई अर्ब ५४ करोड १८ लाख ६० हजार रुपियाँ बराबरको एक लाख ३० हजार ५१६ केजी निर्यात भएको गोरखापत्र अनलाइनले लेखेको छ।
गत वर्षको तुलनामा एक अर्ब रुपियाँ बराबरको ३४ हजार किलो चिया बढी निर्यात भएको हो। चालु आवभर चार अर्ब ५० करोड रुपियाँको चिया हुने अनुमान गरिएको छ। विभागका अनुसार गत आव २०८०/८१ मा तीन अर्ब ६३ करोड रुपियाँ बराबरको एक करोड ६५ लाख केजी चिया निर्यात भएको थियो।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक एवं प्रवक्ता डा. दीपक खनालले अन्तर्राष्ट्रिय बजारमा चियाको माग उच्च हुँदा निर्यातमा उल्लेख्य वृद्धि भएको जानकारी दिनुभयो। “विगतका वर्षमा चियाको निर्यात घट्दै गएको थियो,” उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर उच्च भएको र पहिचान स्थापित भइसकेकाले पनि यस वर्ष चिया निर्यातमा उल्लेख्य वृद्धि भएको हो।”
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य पर्ने चियाको माग बढ्दै गएको उहाँको भनाइ छ। स्वदेशी चियाको उत्पादन बढाएर बढ्दो व्यापार घाटा कम गर्नुका साथै विदेशी मुद्रा भित्र्याउने प्रयाप्त सम्भावना भएकाले चिया उत्पादन बढाउन स्थानीय सरकारसँग सहकार्य भइरहेको उहाँको भनाइ छ। बोर्डका अनुसार आव २०८०/८१ मा मुलुकभर २० हजार ७६० हेक्टर जमिनमा दुई करोड ७० लाख केजी चिया उत्पादन भएको थियो। नेपालमा १५ हजार २०३ जना चिया कृषक, १७१ वटा टी स्टेट र साना मझौला १२० वटा चिया प्रशोधन केन्द्रमार्फत ६० हजार जनाले रोजगारी पाएका छन्।
नेपालमा उत्पादित चिया अन्तर्राष्ट्रिय बजारमा निर्यात भइरहेको बेला बाहिरी मुलुकबाट समेत नेपालमा विभिन्न प्रकारका चिया आयात हुने गरेको छ। विभागका अनुसार चालु आवको नौ महिनामा ५६ करोड २७ लाख रुपियाँ बराबरको ७१ हजार ७१४ केजी चिया आयात भएको छ। गत आव २०८०/८१ मा ३७ करोड ८३ लाख रुपियाँ बराबरको ४४ हजार ३१८ केजी चिया आयात भएको छ।
नेपालमा उत्पादित चिया बेल्जियम, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, जापान कोरिया, क्यानडा, नेदरल्यान्डलगायतका देशमा निर्यात हुने गरेको छ।
राष्ट्रिय चिया दिवस आज
सोमबार विभिन्न कार्यक्रम गरी २९ औँ राष्ट्रिय चिया दिवस मनाइने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले वैशाख १५ गते चिया दिवस मनाउन लागेको हो। ‘स्वस्थ्य चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ भन्ने नारासाथ चिया दिवस मनाउन लागिएको हो।
बोर्डले प्रत्येक वर्ष चिया दिवस मनाउँदै आएको छ। दिवसको अवसरमा विभिन्न जिल्लामा उत्पादन भएका चियाहरू चाख्न पाइनुका साथै चिया उत्पादकको सहभागिता रहने बोर्डले जनाएको छ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button