चक्रपथ दोस्रो खण्डको सर्भे थालियो

चिनियाँ प्राविधिक टोलीले चक्रपथ दोस्रो खण्डको सर्भे थालेको छ । दुई महिनाभित्र सक्ने गरी सर्भेको काम थालिएको हो । त्यसका लागि चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टेन्ट्स र सिआन फाङ्चौ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेडका १८ जना प्राविधिक खटिएका छन् ।
अध्ययनका क्रममा प्राविधिकको संख्या भने घटबढ भइरहने काठमाडौं चक्रपथ सडक विस्तार योजना प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो। ‘अध्ययनमा खटिनेको संख्या तलमाथि भइरहन्छ,’ उहाँले भन्नुभयो, ‘एउटा टोली आउने, अर्को जाने हुन्छ ।’
टोलीले दुई महिना सर्भे गर्ने र त्यसपछिका चार महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) फाइनल गर्नेछ । त्यसपछि मात्र निर्माण प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । ‘ड्रोन सर्भेबाट पनि टोलीले अध्ययन गर्नेछ,’ ओझाले भन्नुभयो, ‘त्यसका लागि अनुमति मागिसकिएकाले यो प्रक्रियामै छ ।’ प्राविधिकले चीन सरकारको अनुदानमा बन्ने कलंकीदेखि वसुन्धरा कल्भर्टसम्मको ८.२ किमिको सर्भे गर्ने प्रमुख ओझाले जनाउनुभयो।
डीपीआरको काम सकिएपछि आवश्यक अध्ययन गरेर मात्र त्यसको स्वीकृति सडक विभागले गर्ने उहाँको भनाइ छ । सर्भेका लागि गत वैशाख ६ मा चिनियाँ प्राविधिक टोली नेपाल आएको थियो ।
अहिले कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । अब विस्तार गर्दा सर्भिस लेनबाहेक आठ लेन सडक बन्नेछ । गत भदौ ६ मा नेपाल र चीन सरकारका प्रतिनिधिबीच सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । तर त्यसपछि प्रगति नहुँदा सर्वसाधारणमा निराशा थपिएको छ । कोटेश्वर–कलंकी पहिलो खण्डको काम भने २०६९ मा सुरु भई २०७५ सालमा सकिएको थियो । कलंकीदेखि वसुन्धरा कल्भर्टसम्म विस्तार गर्ने भनेर चीनसँग सन् २०१८ मा जीटूजी सम्झौता भएको थियो ।
कान्तिपुर अनलाइनका अनुसार चक्रपथ तेस्रो खण्ड विस्तारअन्तर्गत नारायणगोपाल चोकबाट चप्पल कारखाना खण्डमा सडक निर्माणको काम धमाधम भइरहेको छ । अहिले एकतर्फी सडक कालोपत्र गर्ने तयारी छ । चीन सरकारको अनुदानमा बनाउने भनिए पनि कलंकी–वसुन्धरा खण्डमा ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा यस खण्डको विस्तार थालेको हो ।
चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन भएकाले त्यहीअनुसार सात सय मिटर दूरीमा ठेक्का गरेर काम अघि बढाइएको सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।
‘१० दिनभित्र एकतर्फी सडक कालोपत्रको काम सक्ने लक्ष्य छ,’ भण्डारीले भन्नुभयो, ‘वसुन्धरादेखि गोपीकृष्ण पुलसम्मको २.४ किमिसम्म थप ठेक्का गर्न १ अर्ब रुपैयाँ माग गरेका छौं ।’ आगामी आर्थिक वर्षको बजेटमा उक्त रकम आउने र त्यही वर्षबाट ठेक्का गरेर काम अघि बढाइने भण्डारीले बताउनुभयो । अहिले ७ सय मिटरमा सडक विस्तारको ठेक्का अम्बुजा/एसके/काली जेभीले लिएको हो । असारभित्र उक्त खण्डको काम सकिसक्नुपर्नेछ ।
डिभिजन सडक कार्यालय काठमाडौंले नै यसको डिजाइन गरेर काम अघि बढाएको हो । नारायणगोपाल चोकमा केही घर भत्काउनुपर्ने भएकाले त्यहाँ अन्डरपास वा ओभरपास के बनाउन सकिन्छ भनेर डीपीआरको काम काठमाडौं चक्रपथ सडक विस्तार योजना कार्यालयले गर्दै छ । नारायणगोपाल चोकमा डेढ सय मिटर छाडेर क्लिएर भएको ठाउँबाट काम सुरु गरिएको उहाँको भनाइ छ ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button