भारत-पाकिस्तान द्वन्द्वमा शान्ति र अन्तर्राष्ट्रिय छानबिन हुनुपर्छ : महासचिव गुरुङ

काठमाडौँ, २०८२ वैशाख २५/ नेकपा (माओवादी केन्द्र) का महासचिव देव प्रसाद गुरुङले भारत र पाकिस्तानबीच चर्किएको सैन्य तनावमा तत्काल युद्धविराम, स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिन र द्विपक्षीय संवादलाई प्राथमिकता दिन आह्वान गरेका छन्। उनले फेसबुक पोष्टमार्फत यस्तो माग राख्दै भारतले गरेको हवाई आक्रमणलाई “अस्पष्ट आधारमा न्यायोचित ठहर्याउन नसकिने” बताएका छन्।
गुरुङले कश्मीरको पहलगाममा २६जनाको मृत्यु भएको आतंकवादी हमलाको दोष पाकिस्तानमाथि लगाउनुअघि स्वतन्त्र अन्तर्राष्ट्रिय कमिसनको छानबिन आवश्यक रहेको बताए। उनले यस घटनामा पाकिस्तानको संलग्नताको प्रमाण नभएको र भारतले “एकतर्फी कारबाही” गरेको भन्दै आलोचना गरेका छन्।
भारतले पाकिस्तान र पाक-प्रशासित कश्मीरका ९ स्थानमा गरेको हवाई हमलालाई “अनावश्यक र जोखिमपूर्ण” ठान्दै गुरुङले यसले क्षेत्रिय स्थिरतालाई खतरा पुर्याएको बताए। पाकिस्तानले यस हमलामा ८ नागरिकको मृत्यु र ३५ घाइते भएको दाबी गरेको छ ।
दुवै देश नेपालका छिमेकी र मित्रराष्ट्र भएकाले नेपालले “मौन बस्न नहुने” र संयुक्त राष्ट्रसंघको वडापत्र र पंचशील सिद्धान्तको आधारमा शान्ति पक्षमा सक्रिय हुनुपर्ने जोड दिए। उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा द्वन्द्व न्यूनीकरणको लागि मध्यस्थताको भूमिका खेल्नुपर्ने माग गरेका छन्।
संयुक्त राष्ट्रले चिन्ता व्यक्त गर्दै संयम अपनाउन आग्रह गरेको छ भने अमेरिका र चीनले पनि तनाव कम गर्न आह्वान गरेका छन्। नेपालले सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ र राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट सम्भावित प्रभाव व्यवस्थापन गर्ने निर्णय गरेको छ।
यसैबीच परराष्ट्र मामिलाका जानकारहरुले पहलगाम हत्याकाण्डको स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिन, भारत-पाकिस्तानबीच तत्काल कूटनीतिक संवाद र नेपालले संयुक्त राष्ट्र मार्फत शान्ति पहलमा सहभागिता जोगाउनु पर्ने विचार ब्यक्त गरेका छन्।
२०८२ वैशाख १० मा भारत-प्रशासित कश्मीरमा एक नेपाली सहित २६ पर्यटक मारिएपछि भारतले पाकिस्तानमा आक्रमण गरेको हो। तर पाकिस्तानले संलग्नताको आरोप झुठा भएको जनाएको छ। आतंकवादी समूह लश्कर-ए-तैय्यबा र जैश-ए-मोहम्मदको शिविर नष्ट गर्ने भारतीय पक्षले बताएको छ। यसको प्रतिक्रिया जनाउँदै पाकिस्तानले जवाफी कारबाहीको धम्की र संयुक्त राष्ट्रसँग गुहार मागेको छ।
महासचिव गुरुङको यो आह्वानले नेपालको परम्परागत गुटनिरपेक्ष नीति र शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तलाई पुनः प्रतिबिम्बित गरेको छ। द्वन्द्वको एउटा पक्षमा झुकाव नगरी नेपालले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्नु आवश्यक छ, जसले गर्दा क्षेत्रिय तनाव कम हुने र नेपालमा पर्न सक्ने प्रतिकूल प्रभावबाट जोगिन सकिने देखिन्छ।