पाकिस्तानको सैन्य अभियान र भारतको दक्षिण एशियाली साम्राज्यवाद: नेपालका लागि चेतावनीका संकेतहरू

#लक्की चन्द
सन 2025 को वसन्तमा पाकिस्तानले भारतविरुद्ध “बुन्यान उन मार्सोस” नामक सैन्य अभियान घोषणा गर्नुले दक्षिण एशियाली भू-राजनीति पुनः तताउने संकेत दिएको छ। यसको शाब्दिक अर्थ “ठोस संरचना” वा “अडिग आधार” भन्ने बुझिन्छ, जुन पाकिस्तानको संप्रभुता र सुरक्षा नीतिप्रति कटिबद्धताको संकेत हो। भारतको एकपक्षीय आक्रमण, विशेषतः काश्मीर घटनामा पाकिस्तानको संलग्नता नदेखिँदासमेत दोष थोपर्ने कार्यले पाकिस्तानलाई जवाफी कारबाहीमा बाध्य बनाएको हो।
भारत र पाकिस्तानको सम्बन्ध 1947 को विभाजनदेखि नै तनावपूर्ण रहँदै आएको छ। तीनवटा प्रमुख युद्धहरू (1947, 1965, 1971), कारगिल संघर्ष (1999), र पछिल्ला सर्जिकल स्ट्राइक तथा बालाकोट हमलाहरूले भारतीय राज्यसंरचना सदैव आक्रामक रहेको देखाएको छ। भारतीय सञ्चार माध्यमहरूले युद्धोन्मुख राष्ट्रवाद र पाकिस्तानविरुद्ध घृणा फैलाउने कार्य निरन्तर गर्दै आएका छन्।
नेपाल र भारतबीचको खुला सिमाना आज केवल जनसहयोगको प्रतिक होइन, भारतको रणनीतिक उपकरण बन्न पुगेको छ। खुला सिमानाको प्रयोग गर्दै भारतीय गुप्तचर संस्था RAW ले नेपाली भूमि हुँदै पाकिस्तान र अन्य विरोधी पक्षहरूप्रति निगरानी र प्रक्षेपण गर्ने रणनीति बनाएको तथ्य विभिन्न सुरक्षा विश्लेषकहरूले पनि पुष्टि गरेका छन्।
भारतीय गृहमन्त्रालयका सचिव आर. के. सिंहले 2013 मा नै संसदमा नेपाल हुँदै पाकिस्तानी ISI को एजेन्ट भारत प्रवेश गर्छन् भन्ने सार्वजनिक टिप्पणी गरेका थिए, जुन खुला सिमानालाई भारतकै दृष्टिमा असुरक्षित देखाउँछ। तर उल्टै, भारतले यसै बहानामा नेपालमा हस्तक्षेप बढाउँदै आएको छ।
नेपालका केही ठूला दलहरू र विशिष्ट नेताहरू भारतका हितमा काम गर्ने तथ्य 12-बुँदे सहमति (2005) देखि नै स्पष्ट छ। भारतीय सुरक्षा एजेन्सीहरूसँग सिधा सम्पर्कमा रहेका यस्ता दलालहरूले पाकिस्तानविरुद्ध हचुवाका भरमा बक्तव्य दिनु र इस्लाम धर्म वा मुस्लिम समुदायप्रति घृणा फैलाउनु अहिलेको समयमा भारतको ‘Soft War’ रणनीतिको अङ्ग हो।
संयुक्त राष्ट्रसंघ, OIC (Organization of Islamic Cooperation), र अन्य अन्तर्राष्ट्रिय निकायहरूले भारतको काश्मीर नीति र मुस्लिमहरूप्रतिको दमनको आलोचना गर्दै आएका छन्। त्यस्तो बेलामा नेपालमा भारतीय प्रभावमा कार्यरत केही पात्रहरूले पाकिस्तान र मुसलमानविरुद्ध हल्ला चलाउनु सजग रणनीतिक चाल हो।
नेपालको खुला सिमाना तत्कालीन सुरक्षाजन्य सन्दर्भमा गम्भीर खतरा बनेको छ। भारतसँगको खुला सिमानाले न केवल आर्थिक र मानव तस्करी बढाएको छ, तर विदेशी युद्धको अघोषित युद्धभूमि नेपाल बन्ने खतरा पैदा गरिरहेको छ।
यदि वर्तमान सत्ताले खुला सिमाना बन्द गर्ने, द्विपक्षीय सहमतिका आधारमा पुनर्विचार गर्ने वा तटस्थताका सिध्दान्तमा अडिग रहने निर्णय गर्न सकेन भने यसलाई नेपाली जनताले राष्ट्रिय गद्दारीको रूपमा हेर्न थाल्ने छन्।
पाकिस्तान र भारतबीच पुनः सुरु भएको सैन्य द्वन्द्व दक्षिण एशियाको नयाँ युगको सुरुवात हो। नेपालले यो समयमा स्पष्ट तटस्थता, परराष्ट्र नीतिमा समान सन्तुलन, र भारतीय प्रभावको प्रतिकार गर्नुपर्छ। खुला सिमानाको तत्काल पुनरावलोकन आवश्यक छ।
अहिलेको अवस्था र रणनीति हेर्दा भन्न सकिन्छ:
“भारतको सत्तावादी विस्तारवाद केवल छिमेकीहरूमाथिको दबाब होइन, नेपालजस्तो सार्वभौम मुलुकको अस्तित्वमाथि चुनौती पनि हो।”